प्रचण्डले छाेरी र ज्वाईँ दुबैलाई बनाए पार्टीकाे केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई पनि केन्द्रीय सदस्य घोषणा गरेका छन् ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष प्रचण्डले छोरी गंगा र ज्वाईँ जीवनलाई केन्द्रीय सदस्य घोषणा गरेको हो ।

आचार्य प्रदेश १ को खसआर्य पुरुष युवाबाट र गंगा वागमती प्रदेशबाट खसआर्य महिलाबाट केन्द्रीय सदस्य बनेकी हुन् ।पछिल्लो समय गंगा प्रचण्डको सचिवालयमा रहेर काम गरिरहेकी छिन् ।

नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ । वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो ।

यसअघि पार्टीको पुस ११ गते देखि १३ गतेसम्म भएको आठौं महाधिवेशनले २४७ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो । पार्टीको जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार गर्ने निर्णय गरेको हो ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी जेठ २० गते अर्को केन्द्रीय समितिको बैठक राखेर पार्टीभित्रका फरक मतलगायतका विविध विषयमा छलफल हुने बताएका छन् ।

पार्टीका शीर्ष नेताहरुबीचको बैठक बसेर अहिले विस्तृतमा छलफलका लागि समय अभाव भएकाले सबै विषयमा आगामी जेठ २० गतेको बैठकमा छलफल गर्ने निष्कर्ष निकालिएको बताए ।

केन्द्रीय समितिको बैठकमा प्रचण्डले नेताहरु कृष्णबहादुर महरा, देव गुरुङ र लीलामणि पोखरेलले राखेको एमसीसीको सम्बन्धमा नोट अफ डिसेन्ट प्रस्तुत गरेका थिए ।

यस्तै नेता नारायणकाजी श्रेष्ठ लगायतको फरक मतसहित सबै विषय पार्टी कार्यालयमा दर्ज भएको र सबै विषय पार्टीको सम्पत्तिको रुपमा ग्रहण गरेर अर्को बैठकमा छलफल हुने बताएका हुन् ।

अहिले पार्टी चुनावमा होमिनुपर्ने अवस्था रहेको तथा जेठ १५ गते बजेट आउने भएकाले त्यसपछि बैठक बस्नेगरी २० गतेका लागि केन्द्रीय कमिटी बैठक तय गरिएको प्रचण्डको भनाइ छ ।

माओवादीले निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने

नेकपा माओवादी केन्द्र पदाधिकारी चयन गर्न असफल भएको छ । समय अभाव भन्दै माओवादीले पदाधिकारी चयनलाई पछाडि सारेको हो ।

स्थायी कमिटी, पोलिटब्युरो लगायतको पार्टीको संरचना पनि स्थानीय तहको निर्वाचनपछि मात्रै चयन गर्ने माओवादी केन्द्रले तयारी गरेको बताइएको छ ।

यसैबीच सोमबार बसेको केन्द्रीय समिति बैठकले ९७ जना केन्द्रीय सदस्य थप गरेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसहित ९७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । यसअघि पार्टीको पुसमा भएको आठौं महाधिवेशनले २४६ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।

पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष चयन गरेको थियो । त्यसबाहेकका पदाधिकारीमा आकांक्षी धेरै भएकाले प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको छ ।

सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीमाथि नेताहरुको फरक मत पार्टीको सम्पत्ति भएको बताएका छन् । देव गुरुङ, कृष्णबहादुर महरा र गिरिराजमणि पोखरेलले

एमसीसीमा लिखित असहमति राखेपछि प्रचण्डले यस्तो बताएका हुन् । उनले मतभेदबारे स्थानीय तहको निर्वाचनपछि छलफल हुनेसमेत बताएका छन् ।

यथास्थितिमा एमसीसी अनुमोदन नगर्ने महाधिवेशनको निर्णय विपरीत संसदबाट एमसीसी अनुमोदन गरिएको भन्दै माओवादी भित्र तीव्र मतभेद छ ।

 

Leave a Reply

Your email address will not be published.