निर्वाचन आयोगलाई ओलीको प्रश्न – मतपत्रका चुनाव चिह्नमा हरियो रंग किन राख्ने ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको मतपत्रमा दलका चुनाव चिह्न हरियो रंगको राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चको अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मतपत्रका चिह्न हरियो राख्ने निर्णय आयोगले सच्याउनुपर्ने बताएका हुन् ।

‘मैले समाचार पढें, निर्वाचन आयोगले मतपत्रका चिह्नमा हरियो राख्ने रे, हरियो चिह्न किन राख्ने ? निर्वाचन आयोगसँग कुरा गर्न पाएको छैन । यदि हो भने कुन हिसाबले राख्ने ?

धार्मिक हिसाबले राख्ने हो ? कसैको हरियो देखिने चिह्न छ त्यसैले राख्ने ? आँखा नदेख्नेले रुखैरुख देख्छ भनेर हो ?,’ ओलीले भने, ‘निर्वाचन आयोगले सच्याउनुपर्छ हरियो सरियो हुँदैन ।’

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्रको चिह्न हरियो रंगको राख्ने  बताएपछि एमाले अध्यक्ष ओली आक्रोशित बनेका हुन्।

अहिले आयोगले निर्वाचनसम्बन्धी छपाइ सामग्री, निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखाना, सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना जारी गरेको छ।

स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह विवरण तथा सुरक्षण चिन्हहरू हरियो एसकेड्यास-३०८१ स्पेसक्ट्रम ब्राइट ग्रीन मसीले छपाइ गर्ने गरी आयोगबाट निर्णय भएको शर्माले बताएका थिए।

‘चुनाव प्रचार अभियानमा वर्तमान सत्ता गठबन्धनको विरोध नगर्नु’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टी कार्यालयमा बसेको पार्टीका शीर्षनेता र केन्द्रीय सदस्यको बैठकमा प्रधानमन्त्रीले सानातिना मतभेदलाई बिर्सेर पार्टीलाई बहुमत दिलाउन आग्रह गर्दै कांग्रेसको पक्षमा माहोल बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सभापति देउवाले पार्टीले सञ्चालन गर्ने चुनाव प्रचार अभियानमा वर्तमान सत्तारूढ गठबन्धनको विरोध नगर्नसमेत आग्रह गरेका बैठकमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

कांग्रेसले आसन्न चुनाव लक्षित गरेर यही २९ फागुनदेखि एक महिनासम्म देशभर चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

बैठकमा नेता महरले ‘घरघर जाऔँ कांग्रेस जिताऔँ’ को सट्टा ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

आगामी निर्वाचनलाई लक्षित गरी अभियान र रणनीति तय केन्द्रीय समितिको बैठकबाटै हुनुपर्ने उनको भनाइ छ । गठबन्धन गर्दा स्थानीय स्तरको आवश्यकताअनुसार गर्न दिनुपर्नेमा उनले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *