श्रमिक महिला भन्छन्ः मजदूरी नगरी छाक टर्देन

महेन्द्रनगर। मङ्गलबार ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सरकारले बिदा दिनुका साथै यहाँ सो अवसरमा सभा–सम्मेलन एवं सामाजिक सञ्जालमा दिवसको चर्चा भइरहँदा भीमदत्त नगरपालिका–१८ सालघारीमा डेरी गरी बस्ने २७ वर्षीया रीता चौधरी भने मजदूरी काममा व्यस्त हुनुहुन्थ्यो ।

चार वर्षदेखि महेन्द्रनगर बजार क्षेत्रमा घर बनाउने काममा दैनिक रु पाँच सय मा मजदूरी गर्ने चौधरीले महिला दिवसको चर्चा सुनेपनि आफूलाई भने हर्ष न विस्मात भएको बताउनुभयो ।

“दिनभरी मजदूरी नगरी साझँ डेरामा चुलो बल्दैन, दिवसमा बिदा छ भनेर के गर्नु ?”, उहाँले भन्नुभयो, “दिवसमा हकहित र महिलामाथिको विभेद्का नारा गुञ्जिए पनि हामी गरिबीको रेखामुनी रहेकालाई सधँै उस्तै हो ।”

उहाँले महिला पनि श्रमिकको रुपमा काम गरेर विकास निर्माणको सघाउन सक्रिय रहेको भन्दै महिलाको ज्यालामा वृद्धि हुनुपर्ने बताउनुभयो ।

यहाँ मजदूरी गरी जीविकोपार्जन गर्दै आएकी चौधरी कञ्चनपुरको लालझाडी गाउँपालिका–७ चान्देउकी स्थानीयवासी हुन् । श्रीमान् सुरज चौधरीसित महेन्द्रनगर मजुदूरीका लागि आएकी रीताले पारिवारिक अवस्था दयनीय हुँदा आफू छोराछोरीलाई परिवारका सदस्यको जिम्मा लगाएर मजदूरीका लागि आएको दुःखेसो पोख्नुभयो ।

उहाँले महिलालाई विभिन्न आयमूलक काममा लगाउन सीपमूलक तालिम सञ्चालन हुने गरेको भएपनि त्यो आफूहरुको पहुँचबाट टाढै रहेको बताउनुभयो ।

“श्रीमान् सवारी चालक, म मजदूरीमा छौं”, उहाँले भन्नुभयो, “दुई जनाको मजदूरीले चामल किनमेलदेखि घरको अन्य खर्चटर्छ ।”

त्यसैगरी मङ्गलबार बिहान घर बनाउने काममा मजदूरी गर्न जानअघि भगतपुरमै बसोबास गर्दै आउनुभएकी कृष्णपु्र नगरपालिका–२ बाणीकी सुष्मा चौधरीले नारी दिवसको चर्चाबारे थाहा पाउनुभयो ।

तर उहाँलाई दिवसको दिन मजदूरीमा जानु बाध्यता रहेको सुनाउनुभयो । “हामीलाई पनि नारी दिवसको दिन घरमा बसेर मनाउन पाउँदा राम्रै हुने थियो”,

श्रीमान् विक्रम चौधरीसित मजदूरी गरिरहेकी पुष्पाले रासससँग भन्नुभयो, “नाबालिक छोरी गाउँमा छाडेर जीविका चलाउनकै लागि हामी दम्पती यहाँ आएका छौं ।”

बाणी मुक्त कमैया शिविरमा सरकारले दिएको पाँच कठ्ठा जमिन मछेली नदीको किनारमा रहेकाले अन्न फल्न मुस्किल हुने गरेको उहाँको भनाइ छ ।

“बलौटे खेतमा उब्जनी नभएपछि घर छाडेर हामी लामो समयदेखि ज्याला मजदूरी गरेर खर्च चलाइरहेका छौं”, उहाँले भन्नुभयो, “हामीलाई के दिवस, के बिदा सधैँ यस्तै हो ।”

एक महिनाअघि मात्रै महेन्द्रनगरमा ज्याला मजदूरीका लागि आएकी पुष्पा अहिले यहाँको सालघारीस्थित आफन्तको घरमा डेरागरी बसिरहेको बताउनुभयो ।

“तीन वर्षजति दार्चुलास्थित महाकाली नदीको तटबन्धमा मजदूरी गरें”, उहाँले भन्नुभयो, “घरबाट टाढा भएकाले अब यति मजदूरी गर्ने निर्णयानुसार श्रीमान् मिस्त्री र म मजदूरी काम गर्छु ।”

त्यसैगरी यहाँको महाकाली नदीमा ढुङ्गा, गिट्टी र बालुवा छानेर जीविका चलाउँदै गरेकी भीमदत्त नगरपालिका–१३ का सुनादेवी सुनारले भने बगरको सङ्घर्ष मात्रै आफूलाई थाहा हुने गरेको बताउनुभयो ।

“सहरमा महिला हकहित र दिवसका कुरा हँुदा हुन, हामी त बगरमा मजदूरी नगरी भोक टार्न सक्दैनौं”, उहाँले भन्नुभयो, “हुनेखानेलाई पो दिवस आउँलान हामी त महिला भए पनि मजदूर न हौं ।”

दैनिक रुपमा आउने ज्यालाले आफू घरको खाद्यान्न र छोराछोरीको लालनपालनको खर्च जुटाउने गरेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.