रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन गर्न पाइने

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय अब पूर्ण रुपमा चल्नदिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी, क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए ।

कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा ठाउँ अनुसार कतै प्रहरीले रेस्टुरेन्टलाई राति ९ बजे नै बन्द गराउँदै आएको थियो भने कतै स्थानीय व्यवसायीसँग अनौपचारिक समन्वयको आधारमा

समय सीमा तय गरिएको थियो । कोरोनाका कारण रात्रिकालीन व्यवसाय प्रभावित भएपछि कयौँ यो पेशा र व्यवसायबाट भागेका छन् ।

यसरी भइरहेको छ मेलम्ची खानेपानी आयोजनाको मर्मतको काम

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मतकार्य ६० प्रतिशत सम्पन्न भएको छ ।

चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायीरुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुङ्गा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ ।

अस्थायीरुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए ।

गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायीरुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए ।

मुहानमा खसेका ढुङ्गा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।

गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको सपना पर धकेलिएको छ ।

आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिकरुपमा वितरण गर्ने समितिको लक्ष्य छ तर वर्षा लागेसँगै फेरि चार महिना सुरुङ बन्द गर्नुपर्ने अवस्था रहेको कुँवरले बताए ।

मुख्य प्रवेशमार्गमै ठूलो पहिरो गएकाले एशिएन विकास बैंक (एडिवी)ले पहिरो रोकथामका लागि अध्ययन गरिरहेको उनले जानकारी दिए ।

सुरुङमा थुुपारिएको ६० हजार मेट्रिक टन ग्रेगान माटो हटाइसकिएको जनाउँदै कुँवरले ब्लाष्टिङको अन्तिम चरणमा पुगेको बताए ।

ब्लाष्टिङबाट निस्केको गेग्रान माटो बाटो बनाउन र डम्पिङ गरेर व्यवस्थित गरिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.