म्यादी प्रहरीमा भर्ना खुल्याे, तलब ३० हजार २४० हेर्नुस् सूचनासहित

काठमाडाैं । स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको हो।

काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय सबैबाट दरखास्त फारम पाइने र त्यही बुझाउने कार्यालयले जनाएको छ।

दरखास्त चैत ६ गतेदेखि ११ गते सम्ममा दिन सकिनेछ। सार्वजनिक बिदाबाहेक अरू दिन बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्ममा फारम लिन र दिन सकिनेछ।

म्यादी प्रहरीको लागि १८ वर्ष नाघेको र ५४ वर्ष ननाघेको हुनुपर्नेछ। म्यादी प्रहरीको कार्यअवधि बढीमा ४० दिनसम्मको हुने प्रधान कार्यालयले जानकारी दिएको छ।

सेवा सुविधा स्वरूप म्यादी प्रहरीले नेपाल प्रहरीको जवान सरहको हुने जनाएको छ। म्यादी प्रहरीको तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्न बापत एकमुष्ठ ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैयाँ दिने भएको हो।

इन्जिनियरको चुनावमा कांग्रेसको आधिकारिक प्यानल जित नजिक

नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षसहित पदाधिकारी र सदस्यमा नेपाली कांग्रेसनिकट सिडेनको प्यानल जित नजिक पुगेको छ।

कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) ले बाट एसोसिएसनमा दुई प्यानल प्रतिस्पर्धामा थियो।

सिडेनबाट हरिबहादुर दर्लामी अध्यक्षका लागि चुनावी मैदानमा उत्रिँदा सिडेनकै दिलिपकुमार झा पनि अध्यक्ष उठेका छन्।

सिडेनका महासचिव रविभुषण झाले सिडेनको प्यानल नै अरूभन्दा निकै अगाडि रहेको बताए। ‘केही प्रदेशको मत गन्न बाँकी छ,’ उनले भने, ‘हामी जितनजिकै पुगिसकेका छौं, आज दिउँसोसम्म मतगणना सकिन्छ।’

लोकतान्त्रिक समूहले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर १, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश पनि जितिसकेको बताएको छ।

अध्यक्षमा उठेका दर्लामीले अहिलेसम्म तीन हजार छ सय ६९ मत ल्याएका छन्।

साथै नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा सुरज लामिछाने चुनावी मैदानमा छन्। लामिछानेले अहिलेसम्म दुई हजार सात सय ५९ मत ल्याएका छन्। मतगणना जारी छ।

यस्तै नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघले भने चुनावी तालमेल गर्दै अध्यक्षमा हरिराम पराजुलीलाई उठाएका छन्।

नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालले राजेन्द्रप्रसाद हाडालाई अध्यक्षमा उठाएको छ। पाँच वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ।

इन्जिनियर्स एशोसिएसनको यो अधिवेशनमा करिब २१ हजार पाँच सय मतदाता थिए। तर १० हजार एक सय ९३ मत खसेको थियो। सातै प्रदेश र देशका १४ ठाउँबाट मतदान गरिएको थियो।

एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भइरहेको हो।

 

Leave a Reply

Your email address will not be published.