कृषि वनमा परिणत हुँदै ठोट्नेखोला सामुदायिक वन

 हरि बाँस्तोला

गण्डकी । वनको संरक्षण, प्रवद्र्धनका साथै उपयोग गर्दै आएका सामुदायिक वन समूहका उपभोक्ताले वनलाई आयआर्जनसँग जोड्ने अभियान थालेका छन् । वन ऐनले सामुदायिक वनभित्र उद्यम विकास, पर्यापर्यटन र कृषि वन विस्तारको ढोका खोलेपछि उपभोक्ताले वनबाटै रोजगारी सिर्जनासँगै आयआर्जन गर्न थालेका हुन् ।

पोखरा महानगरपालिका–१८ सराङकोटस्थित ठोट्ने खोला सामुदायिक वन समूहले वन क्षेत्रभित्र नगदे बालीका रूपमा परिचित अलैँची, अदुवा, कुरिलो र गुर्जोको व्यावसायिक खेती थालेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको २६ औँ स्थापना दिवसका अवसरमा सामुदायिक वनको ब्लक नं ४ र ५ अलैँचीका १२ हजार ४०० र अति उपयोगी गुर्जोका दुई हजार ६०० बिरुवा रोपिएको ठोट्ने खोला कृषि वन उद्यमशील समूहका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

“कूल आम्दानीको १० प्रतिशत रकम वन समूहलाई दिने गरी वन उपभोक्ता समूहसँग २० वर्षे सम्झौता भएको छ”, उहाँले भन्नुभयो, “दुईवटा ब्लकमा पहिलोपटक यस वर्ष अलैँचीका कूल २० हजार बिरुवा रोप्ने योजना छ ।” उहाँका अनुसार कास्कीको मादी गाउँपालिका–२ ताङतिङबाट प्रतिबिरुवा रु १० का दरले खरीद गरिएको हो । वन क्षेत्रमा रोपिएका साउने र रामशाही जातका अलैँचीका बिरुवाले तीन वर्षदेखि उत्पादन दिने र उत्पादित अग्र्यानिक अलैँचीको फल बिक्रीबाट वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य समूहले लिएको छ ।

सो उद्यमशील समूहले वनको ४ नं ब्लकमा यसअघि ३०० किलोग्राम अदुवाको बीउसमेत लगाएको बताउँदै अध्यक्ष श्रेष्ठले अहिले पनि दैनिक २० जनाले प्रत्यक्षरूपमा रोजगार प्राप्त गरेको जानकारी दिनुभयो । अलैँचीका बिरुवा रोप्नका लागि तीन महिनादेखि खाल्टा खन्ने, झाडी फाँड्ने र खाल्टामा घरपालुवा जनावरको मल राखेर तयारी गरिएको समूहका उपाध्यक्ष जीतबहादुर तामाङले जानकारी दिनुभयो । कूल १९ जनाको समूहले शुरु गरेको आयमूलक कृषि वनमा सम्पन्न १० जनाले लगानी गर्नुभएको छ भने आठजनाले दैनिक ज्यालादारीमा काम गर्दै आउनुभएको छ । समूहको पनि कृषि वनमा शेयर रहेको उक्त सामुदायिक वन क्षेत्रमा यसअघि कुरिलो लगाएर थप आम्दानीको स्रोेतसमेत बन्दै आएको उहाँको भनाइ छ ।

जङ्गलमा हुर्कोका रूखको छहारीमा सेपिलो पाखो, रातो माटो रहेको वन क्षेत्रभित्र लगाइएको अलैँचीले राम्रो उत्पादन दिने प्रचुर सम्भावना रहेको जिल्ला अलैँची उत्पादक कृषक सङ्घ कास्कीका अध्यक्ष जीतबहादुर बस्नेतले बताउनुभयो । “कास्की जिल्लाको अलैँची विश्व बजारमा गुणस्तरीय देखिएको कारण अन्यत्रको भन्दा प्रतिमन रु दुई हजारभन्दा बढी पर्ने गरेको अनुभव छ”, उहाँले भन्नुभयो, “डिभिजन वन कार्यालय कास्कीले हस्तान्तरण गरेका जिल्लाका पाँच सयभन्दा बढी सामुदायिक वनलाई कृषि वनका रुपमा विकास गर्ने हो भने आयआर्जनका साथै निकासीको मुख्य आधार बन्ने विश्वास छ ।”

कास्की जिल्लाका विभिन्न सामुदायिक वनको सात हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती गर्न उपयुक्त छ । गत आर्थिक वर्षमा मात्र तीन करोडभन्दा बढी मूल्यको सुकाएको अलैँची बिक्री भएको सङ्घका महासचिव सुरेन्द्रजङ्ग क्षेत्रीले जानकारी दिनुभयो । मादी गाउँपालिका–२ स्थित मादी हिमाल कृषि फार्मका सञ्चालकसमेत रहनुभएका उहाँका अनुसार एक वर्षमा चार लाखको अलैँचीको बिरुवा र १० लाखभन्दा बढीको प्रशोधित अलैँची बिक्री गरेको रु १४ लाख आम्दानी गर्न सफल भएको छ । यस वर्ष प्रतिकेजी अलैँची रु ५५० देखि एक हजारसम्म बिक्री भएको हो ।

पछिल्लो समय कृषक व्यावसायिक अलैँची खेतीप्रति आकर्षित भए पनि बजार भाउ निश्चित हुन नसक्दा कहिलेकाहीँ चिन्तित हुने गरेको बताउँदै उहाँले सरकारले अलैँचीको दर कायम गर्दै बजारको समेत व्यवस्था गर्ने हो भने निकासीको प्रचुर सम्भावना रहेको नगदेबालीबाट राज्यको अर्थतन्त्रमा समेत ठूलो योगदान पुग्दछ । वृक्षारोपण कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङघ नेपालका केन्द्रीय सदस्यद्वय हरिप्रसाद बाँस्तोला र सरिता कुमाल, गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदी, जिल्ला अध्यक्ष विश्वनाथ लामिछाने लगायतले वन ऐन, २०७६ ले वनको संरक्षणका साथै घुसुवाबाली लगाएर आयआर्जन गर्ने ढोका खुलेको धारणा राख्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घको ‘एक वन एक उद्यम’ अभियानअनुसार यस क्षेत्रका सामुदायिक वन समूहले अलैँची, अदुवा, बेसार, दाँते ओखर, स्याउ, चिराइतो, रतुवा, मुडे च्याउ, कागती, एभोकाडो, टिमुर, मरिज जस्ता नगदेबाली तथा जडीबुटीसँगै लप्सीको अचार, मिनरल वाटरलगायत उद्यमसमेत सञ्चालन गर्दै आएको छन् । उपभोक्ताले देखाएको उत्साहलाई मर्न नदिन सरकारी पक्षको पनि पहल महत्वपूर्ण हुने यस क्षेत्रका विज्ञको सामूहिक धारणा छ ।

Leave a Reply

Your email address will not be published.