७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।

नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले हाल ३५ हजारमध्ये १४ हजार जनप्रतिनिधि एमालेका रहेको बताए ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट २० हजार जनप्रतिनिधि जिताउनुपर्ने उनको भनाई छ । त्यति भए मात्र राष्ट्रिय सभामा बहुमत सदस्य पुग्ने ओलीको हिसाब छ। वृद्धा वृद्ध, गृहिणी, युवा कसैले पनि अहिलेको गठबन्धनलाई भोट हाल्न नसक्ने बताए ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् ।

कार्यक्रममा उनले अब कांग्रेस वृद्धवृद्धाका छेउमासमेत जान नसक्ने दाबी गरे । एमालेले जेष्ठ नागरिकलाई भत्ता बाँडेको भन्दै ६० वर्षमाथिकाहरुले कांग्रेसलाई भोटसमेत नहाल्ने जिकिर गरे ।

“तपाईं हामीले सुनेका छौं, ६० वर्ष माथिका नागरिकलाई कम्युनिस्ट सरकार बन्यो भने गोली हानेर मार्छन् भन्थे । अब बुढाबुढीको छेउमा कांग्रेस जाओस् त ।

बुढो भएर पनि शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन्भन्दा उनलाई त्यो चार हजार भत्ता के गर्नु छँदैछ,” उनले भने, “नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे ।

शेरबहादुरजीलाई म भन्न चाहन्छु, कमसेकम जेष्ठ नागरिक भत्ता पाए । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुस् । अरुले नदेख्नेगरी ।”

ओलीले चुनावमा जाँदा कांग्रेस अघिल्लो सरकारको भण्डाफोर गरेर जाने नीति लिएको भन्दै ओलीले पायो त्यही बोल्ने कांग्रेसको पुरानो बानी भएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *