रियल म्याड्रिडको मैदानमा बार्सिलोनाको सानदार जित

काठमाडाैं । बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको मैदानमा सहजै हराएको छ। स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४-० को फराकिलो अन्तरले हराएको हो।

सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले १-१ गोल गरे।

पहिलो हाफमा २-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप २ गोल गर्दै सानदार जित निकालेको हो।

बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरूवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएका थिए।

खेलको ३७ औं मिनेटमा अराउजोले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा अग्रता दोब्बर बनाए। दोस्रो हाफको दोस्रो मिनेटमा नै टोरेसले गोल गर्दै घरेलु टोलीलाई थप दबाबमा राखे।

खेलको ५१ औं मिनेटमा औबामेयाङले गोल गर्दै बार्सिलोनाको अग्रता ४-० मा पुर्‍याए। त्यसपछि खेलमा थप गोल हुन सकेन।

यो जितसँगै बार्सिलोनाले रियलसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ। बार्सिलोना २८ खेलमा ५४ अंकसहित तेस्रो स्थानमा छ।

शीर्षस्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ६६ अंक छ। दोस्रो स्थानमा सेभिल्लाको २९ खेलमा ५७ अंक छ। चौथो स्थानमा रहेको एथ्लेटिको म्याड्रिडको २९ खेलबाट समान ५४ अंक छ।

एफए कपको सेमिफाइनल समिकरण पूरा

चेल्सी लिभरपुल, म्यान्चेस्टर सिटी र क्रिस्टल प्यालेस एफएकपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले साउथह्याम्टनमाथि ४–१ को सानदार जित निकाल्दा लिभरपुलले नटिङघम फरेस्टलाई १-० र क्रिस्टल प्यालेसले एभर्टनमाथि ४–० को जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेका हुन्।

वेम्बलिमा लिभरपुलले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो।लिभरपुलको जितमा डिएगो जोटाले ७८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

अधिकांश समय गोलरहित बराबरीमा रोकिएको खेलमा लिभरपुलका लागि डिएगो जोताले ७८ औं मिनेटमा गोल गर्दै टोलीलाई अन्तिम चारमा पुर्‍याएका थिए।

त्यस्तै अर्को खेलमा सिटीले प्रिमियर लिग क्लब साउथहेम्पटनमाथि ४-१ को जित निकाल्यो।

सुरूवातबाटै दबाब बनाएको सिटीका लागि रहिम स्ट्रलिङले १२ औं मिनेटमानै गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा लापोर्टेको आत्माघाती गोलमार्फत खेल १-१ गोलको बराबरीमा आयो।

दोस्रो हाफमा थप आक्रामक बनेको सिटीका लागि ६२औं मिनेटमा केमिन डि ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ ले अघि बढाए । ७५औं मिनेटमा फिल फोडेनले तथा ७८औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको जित पक्का गरे ।

यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एभर्टनलाई ४–० को भारी अन्तरले पराजित गरेको छ। क्रिस्टल प्यालेसको जितमा मार्क गुही, जिन फिलिप माटेटा, वेलफ्रेड जाहा र विल ह्युगले गोल गरे ।

यसअघि शनिबार राति चेल्सीले मिडल्सव्रगलाई पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । योसँगै एफए कपको सेमिफाइनलको समिकरण पुरा भएको छ।

अब सेमिफाइनलमा चेल्सी र क्रिस्टल प्यालेस तथा सिटी र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलका खेलहरु अप्रिल १६ तथा फाइनल मे १४ मा हुनेछ।

Leave a Reply

Your email address will not be published.