एमाले प्रवेश गर्दै अभिनेत्री करिश्मा मानन्धरले के भनिन्?

काठमाडाैं । नायिका करिष्मा मानन्धर नेकपा एमाले प्रवेश गरेकी छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका हुन्।

नायिका मानन्धर यसअघि बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालमा पनि आवद्ध थिइन्। तर उनले उक्त पार्टी छाडेको लामो समय भइसकेको थियो।

आफू एमालेमा रहेर राजनीति गर्ने निर्णयमा पुगेको करिष्माले आज बताइन्। अरू धेरै पार्टीहरूसँग निकट भए पनि एमाले रोज्नुमा अध्यक्ष ओलीको क्षमता र प्रतिवद्धता रहेको उनले सुनाइन्।

‘मैले अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन। नेता भनेको जनतालाई भिजन देखाउने मानिस हो। त्यो म ओलीमा पाउँछु,’

उनले भनिन्, ‘छ महिनाको अवधिमा मैले ओलीसँग २ पटक भेटेँ। उहाँको कुरा सुनेर म कहिल्यै थाक्दिनँ। यति उत्साहजनक र प्रेरणादायी कुरा गर्नुहुन्छ।’

उनले आफू कुनै पदका लागि भन्दा पनि एमाले कार्यकर्ता हुनका लागि पार्टीमा आएको बताएकी थिइन्।

‘म किन एमालेमा आएँ भन्ने प्रश्न धेरेमा हुनसक्छ। यसका खास कारण छन्’, उनले भनिन्,‘एउटा कार्यकर्ता भएर काम गर्छु, जिम्मेवारी जे पाउँछु त्यो पनि पूरा गर्छु।’

एमालेलाई रोज्नुको पहिलो कारणचाहिँ अध्यक्ष केपी शर्मा ओली रहेको मानन्धरको भनाई थियो। उनले ओलीमा अठोट, नेतृत्वको क्षमता, राजनीतिक रुपमा सपनाहरू देखाएर कार्यान्वयन गर्न सक्ने सामथ्र्य र आत्मबल एमालेमा जोडिनुपर्ने कारण रहेको बताइन्।

एमालेको सांगठनिक ढाँचा, नेताहरूमा रहेको राजनीतिक संस्कार, प्रमुख प्रतिपक्षी हुँदाको भूमिका र त्यसको प्रस्तुती पनि एमालेको परिवारभित्र छिर्न मद्दत गर्ने अर्को कारण रहेको अभिनेत्री मानन्धरको भनाई थियो।

आफू विभिन्न कार्यक्रममा जाँदा पार्टी र एमालेभन्दा बाहेकका दलका नेता कार्यकर्ताले पनि अध्यक्ष ओलीको प्रशंशा गरेको, एमालेको भूमिकाको गुणगान गाएका कारण यो पार्टी नै मुलुकका लागि आशा रहेको

अभिनेत्री मानन्धरले रोज्नुको तेस्रो कारण बनेको हो। उनले भनिन्,‘पोखरालगायतका विभिन्न ठाउँका कलाकर्मका कार्यक्रममा जाँदा मैले अध्यक्ष ओलीको प्रशंशा विभिन्न क्षेत्रका मानिसबाट सुनेकी थिएँ। त्यसले मलाई प्रेरित गरेको छ।’

 

Leave a Reply

Your email address will not be published.