स्थानीय चुनावमा ओलीले देखेका यस्ता छन् जितका १८ आधार

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय चुनावमा आफ्नो पार्टीले जित हासिल गर्ने दाबी गर्दै १८ आधार प्रस्तुत गरेका छन्।

अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा जितका आधार पेश गरेका हुन्। एमालेको जितलाई सत्तारूढ पाँच दलीय गठबन्धनले असर नगर्ने उनको जिकिर छ।

उनले आफ्नो नेतृत्वको सरकारले विकास निर्माणका काम गरेको दाबी गरेका छन्। जसले गर्दा आगामी चुनावमा सहजै जित हासिल गर्ने उनको अनुमान छ।

ओलीले देखेका जितका आधार:

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचनासँगै आगामी स्थानीय चुनावको तयारी लगायत विषयलाई समेटेर राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

काठमाडौंमा प्रारम्भ भएको एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकमा बुधबार अध्यक्ष ओलीले प्रस्तुत गरेको १५ पृष्ठ लामो प्रतिवेदनमा एमालेप्रति

जनताको आकर्षण बढेको जिकिर गरेका छन्। अब संगठनका आन्तरिक क्रियाकलापलाई छोडेर स्थानीय चुनावमा केन्द्रित हुन आवश्यक रहेको औंल्याएका छन्।

अहिले चलिरहेको पार्टी प्रवेशले राम्रो सङ्केत गरेको जनाउँदै यो कार्यक्रमलाई अझै तीव्रता दिनुपर्नेमा जोड दिइएको छ। प्रतिवेदनमा भनिएको छ,

‘पार्टी प्रवेशको यस शृङ्खलालाई आगामी दिनमा झनै तीव्र पार्नुपर्छ र जनअभिमतबाटै हाम्रा विरुद्धको घेराबन्दीलाई तोड्नुपर्छ।’

उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेले जित हासिल गर्ने दाबी गरेका छन्। प्रतिवेदनमा एमालेको जितका १८ वटा आधार देखाइएका छन्।

अध्यक्ष ओलीले स्थानीय चुनावको तयारीका लागि पनि कार्यक्रम अघि सारेका छन्। उनले पार्टी स्थापना दिवसको अवसर पारेर ९ वैशाखमा चुनावी घोषणापत्र जारी गर्नुपर्ने बताएका छन्।

केन्द्रसँगै प्रत्येक स्थानीय तहले स्थानीय मुद्दालाई ध्यानमा राखेर सबै स्थानीय तहमा ९ वैशाखमै प्रतिबद्धतापत्र सार्वजनिक गर्नुपर्ने बताएका छन्।

यससँगै अध्यक्ष ओलीको प्रतिवेदनमा सरकारको चर्को आलोचना गरिएको छ। सरकार गठन भएको आठ महीनामा पाँच वटा गलत काम गरेको औंल्याइएको छ।

सरकारले संविधान र लोकतन्त्रको मानमर्दन गरेको, संसद्‌लाई बेकम्मा सावित गर्ने दुराशय राखेको, निषेध, ध्रुवीकरण र घृणाको राजनीति शुरू गरेको,

अर्थतन्त्रलाई सङ्कटग्रस्त अवस्थामा पुर्‍याएको, राष्ट्रिय हितप्रति बेवास्ता गरेको तथा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको आरोप लगाएका छन्।

यस्तै, अमेरिकी सहायता परियोजना एमसीसीका विषयमा सत्तारूढ दलले दोहोरो भूमिका खेलेको उनको जिकिर छ। यसमा उनले नेकपा (माओवादी केन्द्र) को आलोचना गरेका छन्। माओवादीकै कारण एमसीसी विवादित भएको जिकिर गरेका छन्।

अब एमसीसीलाई लिएर जनतामा विभाजन आउने काम गर्न नहुने उनको भनाइ छ। ‘एमसीसी परियोजना सम्बन्धी सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ।

अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ,’ ओलीले भनेका छन्, ‘पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ।’

बुधबारदेखि शुरू भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबारसम्म चल्नेछ। यसमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै समसामयिक विषयमा छलफल हुनेछ।

Leave a Reply

Your email address will not be published.