तीन सार्वजनिक बिदा थपिए

बिराटनगर । प्रदेश नंं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले सात वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा

बसेको सो बैठकले सङ्घीय सरकारले २०७९ सालका लागि स्वीकृत गरेको बाहेक प्रदेशमा तीन वटा सार्वजनिक बिदा थप गरेको छ ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार भदौ ४ गते मनाइने राधाकृष्ण रथयात्रा, कात्तिक १४ गते हुने छठ पर्वको समापनका दिन र कात्तिक २५ गते मनाइने फाल्गुनन्द दिवसका दिन प्रदेशमा सार्वजनिक बिदा दिइने निर्णय भएको हो ।

असाध्य रोग लागेका २१ जना बिरामीको मागअनुसार उपचार खर्चबापत अनुदान दिने, अन्तर्राष्ट्रिय विकास सहायता परिचालन तथा समन्वयसम्बन्धी कार्यविधि, २०७८ स्वीकृत गरी राजपत्रमा प्रकाशन गर्ने र

वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँटको बजेट सीमा निर्धारण गर्ने सम्बन्धको प्रस्ताव पनि बैठकले अनुमोदन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले कृषि मन्त्रालयले प्रस्तुत गरेको ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान(पहिलो संशोधन नियमावली २०७८’ स्वीकृत गरेको छ ।

त्यसैगरी, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रस्तुत गरेको पदमार्गमा आधारित पर्यटन विकास परियोजना प्रतिवेदन र प्रदेश प्रज्ञाप्रतिष्ठान विधेयक, २०७८ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको यातायात व्यवस्था तथा सञ्चारमन्त्री घिमिरेले जानकारी दिनुभयो ।

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई ः नेता भट्टराई

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताउनुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गर्नुभयो ।

उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ । प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध,

विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।

Leave a Reply

Your email address will not be published.