चिनियाँ विदेशमन्त्रीलाई ओलीले के भने !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चीनलाई बीआरआईसँग सम्बन्धित आयोजनाहरु छिटोभन्दा छिटो अगाडि बढाउन आग्रह गरेका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीसँग आज बिहान भएको भेटवार्तामा ओलीले सो आग्रह गरेको नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

भेटपछि भट्टराईले पत्रकारहरुलाई दिएको जानकारी अनुसार पूर्वप्रधानमन्त्री ओलीले बीआरआईसँग परियोजनाभित्र पर्ने सडक, रेल, सिंचाइ, जलविद्युत,

सीमा नाका, स्वास्थ्य र शिक्षाका आयोजनालाई छिटो अगाडि बढाइदिंदा समृद्ध नेपाल सुखी नेपाली बनाउने आकांक्षा पूर्तिमा थप योगदान पुग्ने बताएका थिए ।

भेटमा ओलीले बन्द रहेका नाका खुलाउन र कोभिडका कारण नेपालमा आएका विद्यार्थीहरुलाई चीन फर्किएर अध्ययन पूरा गर्ने वातावरण मिलाउन पनि आग्रह गरेका थिए ।

 

हुम्ला पारि करिब ५ सय नेपालीहरु रोकिएको सुनेको बताउँदै भट्टराईले यदि त्यो कुरा सत्य हो भने उनीहरुलाई छिटो ल्याउने वातावरण मिलाइदिन पनि आग्रह गरेको जानकारी दिए ।

चिनियाँ विदेशमन्त्रीले तत्कालीन र दीर्घकालीन योजनाहरु छिटोभन्दा छिटो कार्यान्वयनमा लैजान चीन प्रतिबद्ध रहेको भनेको पनि भट्टराईले जानकारी दिए ।

कोभिड महामारीको बेला चीनले स्वास्थ्य उपकरण र खोप सहयोग गरेकोप्रति पनि ओलीले आभार व्यक्त गरेका थिए ।

याे पनि पढ्नुस्

बीआरआई परियोजना कार्यान्वयनमा लैजान विदेशमन्त्री वाङलाई प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यी बीचको भेटवार्तामा दुवै पक्ष बीआरआई लगायतका परियोजना कार्यान्वयनमा लैजाने विषयमा सकारात्मक छलफल भएको छ ।

चिनियाँ विदेशमन्त्री यी र माओवादी नेताहरुको भेटवार्तामा सहभागी नेता शक्ति बस्नेतले दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धका बारेमा चर्चा भएको बताए ।

‘सुरुमा हाम्रोतर्फबाट दुई देशबीच र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा भयो,बीआरआई लगायतका परियोजना अघि बढाउनेबारे, व्यपार घाटा कम गर्नेबारे चर्चा भयो ।

त्यस्तै दुई देशबीचका नाका नियमित र सन्तुलित गर्नेबारेमा चर्चा भयो’, भेटपछि नेता बस्नेतले भने, ‘उहाँहरुका तर्फबाट पनि दुई देश र दुई पार्टी बीचको सम्बन्धबारे चर्चा गर्नुभयो ।’

त्यसक्रममा चिनियाँ पक्षले नेपालका सवै राजनीतिक पार्टीसँगको सम्बन्ध सुदृढ हुँदै गएको बताएका थिए । त्यसक्रममा माओवादी नेतृत्वले आफ्नो तर्फबाट नेपाली भूमी चीन विरोधी गतिविधिमा संलग्न हुन नदिन पहल गर्ने विश्वास दिलाएको थियो ।

‘नेपालका सवै पार्टीसँगको सम्बन्ध सुदृढ हुदै गएको चर्चा उहाँहरुले गर्नुभयो । स्वभाविक रुपमा कम्युनिस्ट पार्टीबीच मात्रै सिमित नभएर सबै सँगको सम्बन्ध बढ्दै गएको उहाँहरुको भनाइ रह्यो’, नेता बस्नेतको भनाइ छ ।

साथै चिनियाँ पक्षले नेपालले विकास प्रयासमा लिने कुनै पनि निर्णयको चीनले सम्मान गर्ने बताएको भेटमा सहभागी नेता बस्नेतले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.