मतपत्रमा हरियो रङ सत्ता गठबन्धनसँगको साँठगाँठ : ओली

काठमाडाैं । निर्वाचन आयोगको मतपत्रमा हरियो रङ प्रयोग गर्ने निर्णयलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँगको साँठगाँठ भनेका छन्।

आइतबार एमालेको स्थायी समिति बैठकको शुरूआतमा बोल्दै हरियो रङ प्रयोग गर्ने निर्णयमा विरोध जनाएका छन्। यसअघि पनि उनले यसको विरोध गरेका थिए। निर्वाचन आयोगले यो प्रवाधिक विषय भएको स्पष्टीकरण दिएको थियो।

ओलीले फेरि त्यहि विषयमा आपत्ति जनाएका छन्। “निर्वाचन आयोगले हरियो रङ छानेको छ। त्यो एउटा संकेत हो,” ओलीले आयोगलाई प्रश्न गरे, “रुखसँग मिल्दो हरियो बनाएर रुख झपक्क पार्ने?”

मतगणना गर्दा सजिलो हुन्छ भन्ने आयोगको भनाइ ठीक नभएको ओलीको जिकिर थियो। “सत्ताधारी दललाई फाइदा पुग्ने गरी रङ निर्धारुण गर्‍यो, परिवर्तन ग¥यो। कसैलाई फाइदा पुग्ने गरी गरिएको बिल्कुल बेठिक कुरा हो,” ओलीले भने।

यस विषयमा आयोगले राजनीतिक दलहरूसँग परामर्श नगरेकोमा पनि उनले असन्तुष्टि जनाए। “दलहरूसँग परामर्श नगरी रङ बदल्ने कुरा सामान्य हुँदै होइन,” ओलीले भने, “निर्वाचन आयोगले यो निर्णय बदल्नै पर्छ।”

यो सत्ता गठबन्धनसँगको साँठगाँठ भएको ओलीको आरोप छ। उनले प्रश्न गरे, “सत्ता पक्षीय फाइदाका लागि निर्वाचन आयोग अनुचित कुरामा अडान लिएर त्रुटी सच्याउन किन तयार हुदैन?”

त्यस्तै, स्थानीय चुनावमा उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएकोमा पनि एमाले अध्यक्ष ओलीले विरोध जनाएका छन्। आयोगले ११ र १२ वैशाखमा उम्मेदवारी दिने समय तोकेको छ।

यसलाई पनि ओलीले सत्ता गठबन्धनसँगको साँठगाँठ भनेका छन्। “मनोनयन दर्ताका लागि कहिल्यै पनि दुई दिन दिइएको थिएन,” उनले भने, “सत्ता गठबन्धनको द्वन्द्व मिलाउनका लागि दुई दिन समय दिइयो। यो सत्ता गठबन्धनसँग निर्वाचन आयोगको साँठगाँठ हो।”

उनले यसको विरोध गर्न स्थायीय समिति सदस्यलाई आह्वान गरे। यो निर्णय सच्याउनका लागि आयोगलाई दबाब दिनुपर्ने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published.