साना दलहरु खुसी हुने गरी निर्वाचन आयोगले गर्यो यस्तो निर्णय !

काठमाडाैं । आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त सहित सबै दलले आफ्नै चिह्नमा चुनाव लड्न पाउने भएका छन्।

निर्वाचन आयोगले सबै दलका उम्मेदवारलाई सम्बन्धित दलकै चुनाव चिह्न दिने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

अहिले राष्ट्रिय मान्यताप्राप्त ६ दल छन्। जसमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चा छन्।

स्थानीय चुनावमा भाग लिन ७९ दलले निवेदन दिएका थिए। त्यसमा राष्ट्रिय मान्यताप्राप्त बाहेकका ७३ दल छन्। उनीहरूलाई पनि आआफ्नै चिह्नमा चुनाव लड्न दिने आयोगले निर्णय गरेको हो।

यससँगै आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। देशभर एक करोड ७७ लाख ३३ लाख ७२३ मतदाता छन्। महिलाको तुलनामा पुरुष धेरै छन्।

त्यस्तै, आयोगले ७७ जिल्लाकै मुख्य निर्वाचन अधिकृत तोकिसकेको छ। यसका साथै ६७६ वटा निर्वाचन अधिकृत पनि तोकिएको प्रवक्ता पौडेलले बताए।

अब मतपत्र छपाइ गर्ने तयारी गरिएको आयोगले जनाएको छ। यस पटक जनक शिक्षा सामग्री केन्द्रबाट मतपत्र छपाइ हुने भएको छ।

कुन जिल्लामा चुनाव लड्ने कति दल? 

आगामी स्थानीय तहको निर्वाचनमा प्रत्येक जिल्लामा चुनाव लड्ने दलको सङ्ख्या तय भएको छ।

निर्वाचन आयोगले गरेको आह्वान अनुसार जिल्ला स्तरमा चुनाव लड्ने प्रयोजनका लागि दर्ता भएका दलको सङ्ख्या टुङ्गो लागेको हो। आयोगले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्ने दलको सङ्ख्या ७९ भएको जनाएको छ।

राष्ट्रिय मान्यता प्राप्तसँगै ७९ दलले आगामी निर्वाचनमा भाग लिंदै छन्। जसमा ६ वटा राष्ट्रिय मान्यता प्राप्त र ७३ वटा अन्य दल छन्। उनीहरूले आफ्नो चिह्नमा चुनाव लड्न पाउनेछन्।

दलहरूले दिएको निवेदन अनुसार, फरक फरक जिल्लामा फरक फरक मत्रपत्र बन्ने भएको छ। केन्द्रमा दर्ता भएका ७९ दलमध्ये काठमाडौंमा सबैभन्दा बढी ४० दलले प्रतिस्पर्धा गर्ने भएका छन्।

त्यस्तै, सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पामा पाँच-पाँच दलले प्रतिस्पर्धा गर्नेछन्।

Leave a Reply

Your email address will not be published.