लोपहुँदै मगर समुदायको खाम भाषाः भेटिएको लिपि पनि पहिचान हुन सकेन

ध्रुबसागर शर्मा

गलेश्वर । मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हँुदै गएको छ ।

खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुदायका युवा पुस्ताले परम्परागत खाम भाषा कम बोल्ने गरेका कारण यो भाषा त्रमशः लोप हुँदै गएको हो ।

धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वत जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति रहेको छ । यी जिल्लामा मगर समुदायको बाक्लो उपस्थिति भएपनि आफ्नो मौलिक भाषा र संस्कृतिको प्रवद्र्धनमा उनीहरु गम्भीर नहुँदा खाम भाषा नै सङ्कटमा पर्न गएको बताइएको छ ।

यो भाषा बोल्ने ज्येष्ठ नागरिकको मृत्यु हुँदै गएको र नयाँ पुस्तामा यो भाषा स्थानान्तरण नहँुदा लोप हुँदै गएको मगर समुदायका अगुवा बताउँछन् ।

म्याग्दीका अधिकांश मगर समुदायका व्यक्तिले अलिअलि मगर ढुँट बोल्ने र बुझ्ने भए पनि पुख्र्यौली खाम भाषा भने लिपिको अभावमा बोल्न र बुझ्न नसकिएको उनीहरुको भनाइ छ ।

मगर समुदायका तीन वटा भाषिका (भाषा) छन् । गुल्मी जिल्लाको रिडी पश्चिम भाग दाङ हुँदै कर्णाली प्रदेशसम्म बोलिने १८ मगरातको भाषा खाम भाषिका खलकको हो भने रिडीको पूर्वी भागमा बोलिने १२ मगरातको मैढँुट भाषिका हो ।

त्यसैगरी सुदूरपश्चिम क्षेत्रमा बोलिने (काईकेल) भाषा मगर समुदायका प्रमुख भाषिका हुन् । मगर समुदायका यी तीनवटै भाषा (भाषिका) बोल्ने मानिसको सङ्ख्या अत्यन्त कम रहेको

नेपाल मगर सङ्घ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाले बताउनुभयो । उहाँका अनुसार सो समुदायका ज्येष्ठ नागरिकमा भाषाको ज्ञान भए पनि युवा पुस्ताले यसमा चासो नदिँदा समस्या देखिएको हो ।

लिपीको अभावमा युवा पुस्ताले खाम भाषा सिक्न ध्यान नदिँदा अहिले सो भाषा नै गाउँ समाजबाट पूरै लोप हुने अवस्थामा पुगेको मगर समुदायका अगुवा बताउँछन् ।

परम्परा बचाउन भाषाको ठूलो काम हुने भन्दै पछिल्लो समय मगर समुदायको कलासंस्कृति, वेषभूषा पनि कतै हराउँछ की भन्ने प्रश्न उब्जिएको देखिन्छ ।

मगर महिलाले लगाउने गुन्यू चोलो, पुरुषले लगाउने पहिरन मेला महोत्सव र चाडपर्वमा मात्र सीमित भएको स्थानीयवासी देउसरा पुनले बताउनुभयो ।

पछिल्लो समय आधुनिकताले गर्दा मगर समुदायका संस्कार संस्कृति विस्तारै हराउन थालेका छन् । म्याग्दीका विभिन्न क्षेत्रका मगर समुदायले बोलिने खाम भाषा नेपाली तथा खस भाषाको चेपुवामा परेका कारण लोपोन्मुख अवस्थामा पुगेको भन्दै उहाँले त्यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

नयाँ पुस्ताले अध्ययन र रोजगारीका लागि देशका विभिन्न सहरलगायत विदेशिने गरेका छन् । त्यहाँबाट आफ्नो गाउँघर फर्किएपछि उनीहरु नेपाली भाषामै कुराकानी गर्न रुचाउने हुँदा खाम भाषा सङ्कटमा पर्दै गइरहेको

मगर भाषाका अध्येता इन्द्रबहादुर आलेले बताउनुभयो । विद्यालयमा हुने पठनपाठनदेखि सबै सरकारी कामकाजसमेत नेपाली भाषामा हुँदा खाम भाषा सङ्कटमा पर्दै गइरहेको आलेको भनाइ छ । अठार मगरातअन्तर्गत बोलिने यो भाषा म्याग्दी र बागलुङका विभिन्न ठाउँमा बोल्ने गरिन्थ्यो ।

राज्यको प्रष्ट नीति नहुँदा पुर्खौँदेखि बोलिँदै आएको खाम भाषा र मगर संस्कृति सङ्कटमा पर्दै गएकाले त्यसको संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने मगर समुदायका अगुवाले बताएका छन् ।

यहाँका स्थानीय तहले मगर भाषाको संरक्षण गर्न र नयाँ पुस्तालाई प्रशिक्षण प्रदान गर्नका लागि गुरुयोजना बनाउनुपर्ने आवश्यकता देखिएको मगर भाषाका अध्येता आलेले बताउनुभयो ।

“यस क्षेत्रमा मगर समुदायको बाक्लो बसोबास छ तर यहाँका अधिकांश मगर समुदायमा मगर संस्कृति छैन, मौलिक भाषाका बारेमा पनि ज्ञान छैन, सीमित केही व्यक्तिबाहेक अरु मगर भाषा बोल्न जान्दैनन्”,

उहाँले भन्नुभयो, “मगर भाषा र संस्कृतिको संरक्षणका लागि स्थानीय सरकारले पहलकदमी लिने अपेक्षा गरेका छौँ ।” मगर भाषा र संस्कृतिको संरक्षणका लागि सबै मगर समुदाय जागरुक हुनुपर्ने उहाँको भनाइ छ ।

पहरामा भेटियो लिपि, पहिचान हुन सकेन

लिपिको अभावमा लोप हुँदै गएको खाम भाषा (भाषिका) को अक्षर संरचनाको बारेमा ज्ञान नहुँदा चिमखोला, राम्चे, काफलडाँडालगायत ठाउँमा भेटिएका लिपिको अध्ययन हुन नसकेको नेपाल मगर सङ्घ म्याग्दीले जनाएको छ ।

नेपाल मगर सङ्घ म्याग्दीकी अध्यक्ष डकमाया पाइजाका अनुसार काफलडाँडाको भीरको पहरोमा कुदिएको लिपि फेला परेको छ । त्यो लिपि ढुँट भाषाको नभएकाले खाम भाषाको हुनसक्ने अनुमान गरिए पनि अझैसम्म पहिचान हुन सकेको छैन ।

अध्यक्ष पाइजाका अनुसार पहरामा भेटिएको लिपिको अनुसन्धानका लागि नेपाल मगर सङ्घको केन्द्रीय समितिमा पठाइएको भए पनि अनुसन्धानकै क्रममा रहेकाले खाम लिपि नै हो भनेर ठोकुवा गर्नसक्ने अवस्था छैन ।

काफलडाँडाको भीरको पहरोमा भीर मौरीको मह काढ्नेहरुले ठूलाठूला चट्टानमा केही कुदिएको देखे पछि मगर समुदायको अगुवाहरु पराङ (रसी) मा झुण्डिएर ती लिपिको फोटो लिएका थिए ।

त्यसैगरी पुन मगरहरुको कुलदेवताको मन्दिर रहेको राम्चेको नौकुने ढुङ्गामा र उत्तरी म्याग्दीको चिमखोलाको पहरामा पनि पुरानो लिपि भेटिएको बताइएको छ ।

तर ती लिपिको व्यापकरुपमा अध्ययन र अनुसन्धान भने हुन सकेको छैन । म्याग्दीमा मगर ढुँट भाषाको अध्ययन र अनुसन्धानका लागि निकै प्रयास गरिएको भए पनि खाम भाषाको बारेमा भने मगरसमुदायले खासै पहल गरेको पाइँदैन ।

ढुँट भाषाको लिपि हुनुका साथै म्याग्दीका विभिन्न विद्यालयमा प्राथमिक तहमा मगर भाषाको अध्ययन गराइँदै आइएको छ ।

मगरभाषाको लिपि कस्तो हुन्छ र कसरी लेखिन्छ, बोलिन्छ भन्ने कुरा यहाँका केही मगर समुदायका व्यक्तिलाई मात्र थाहा छ । रासस

Leave a Reply

Your email address will not be published.