नेपाल र भारतका प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन् ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल छुटेको हो ।

उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो । जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

आइतबारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा चल्नेछ । २०७७ असोजमा दुवै रेल सेट भारताबाट जनकपुर ल्याइएको थियो । लामो समयसम्म रेल पालले छोपेर राखिएको थियो ।

नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर

नेपाल र भारत बीच चारवटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा ती सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता भएलगत्तै दुई देशको प्रतिनिधिमण्डलको छलफलपछि ती सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार एलाइन्स, रेल वे सम्बन्धी प्राविधिक सहयोग, पेटोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्राविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

Leave a Reply

Your email address will not be published.