केपी ओलीले वुद्धिजीविहरुलाई सुनाए जुम्राको सृष्टि कसरी हुन्छ भन्ने कथा

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले वुद्धिजीविहरुलाई सृष्‍टि धेरै ठूलो कुरा नभएको भन्दै जुम्राको विकासक्रम सुनाएका छन् । बुद्धिजीवी भेलामा बोल्दै ओलीले जुम्राको सृष्‍टिबारे बताएका हुन् ।

नेपाल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशनमा ओलीले उदाहरण दिँदै भने, ‘पहिला अन्डा सृष्‍टि हुन्छ कि भाले सृष्‍टि हुन्छ कि पोथी सृष्‍टि हुन्छ ? कसरी सृष्‍टि हुन्छ भन्ने बुझ्न धेरै ठूलो कसरत गर्नुपर्दैन । १५ दिन ननुहाइ, लुगा नधोइ बसौं, जुम्रा आफैं सृष्‍टि हुन्छ ।’

जुम्रा सृष्‍टि हुँदा कुनै भाले पोथी लगाएर सृष्‍टि भएको हुँदैन । ब्रह्मा माने समय र दुर्गा माने प्रकृतिबाट जुम्रा पैदा हुन्छ । जुम्रा पैदा भएपछि भाले र पोथी नै जन्मिन्छ, त्यसका लागि प्रकृतिले आफैं जोहो गर्छ । त्यसपछि लिखा हुन्छ, ढाडी हुन्छ । सृष्‍टि धेरै ठूलो कुरा होइन ।’

कार्यक्रममा ओलीले भारतको राजधानी नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा नेपालको चुच्चे नक्सा नराखिएको भन्दै आपत्ति जनाए ।

उनले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्ली दूतावासमा चुच्चे नक्सा राखेर फर्कने कि हटाएर भन्दै प्रश्न गरे ।

“दिल्लीस्थित राजदूतवासमा टाँगिएको फोटोमा त्यहाँ नेपालको नक्सा बुच्चे राखिएको छ, चुच्चे हटाइएको छ,” ओलीले प्रश्न छ,

“फर्किनुभन्दा अगाडि दिल्ली दूतावासमा हाम्रो संविधानले भनेको नक्सा, संविधान संशोधन गरेर बनाएको नक्सा राखेर फर्किनुहुन्छ कि हटाएर फर्किनुहुन्छ शेरबहादुरजी ?”

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पहिले चुच्चे नक्सा बनाउन त परको कुरा बोल्न समेत कसैले आँट नगरेको भन्दै आफ्नो सरकारले नक्सा छापेर मात्र होइन, संविधान संशोधन गरे पनि दिल्ली दूतावासमा सुटुक्क बुच्चे नक्सा झुन्ड्याइएको बताए ।

“लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको भूभाग हो भन्ने थाहा छैन भने यो सरकारलाई केचाहिँ थाहा छ त ?,” ओलीको प्रश्न थियो ।

प्रधानमन्त्री देउवा सरकारको १०० दिनको किताब निकाल्दा समेत चुच्चे नक्सा हटाउनु साधारण कुरा नभएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.