सन्दीपको कप्तानीमा पहिलो उपाधि

काठमाडाैं । सन्दीप लामिछानेको नेतृत्वमा नेपालले पहिलो उपाधि जितेको छ।

शुक्रबार फाइनलमा पपुवा न्यूगिनीलाई ५० रनले पराजित गर्दै नेपालले त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको हो। लामिछाने नेतृत्वमा नेपालले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।

यसअघि नेपालले घरेलु मैदानमा सन् २०२० मा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित सिरिज जितेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको त्रिदेशीय शृङ्खलामा नेपाल, पपुवा न्यूगिनी र मलेशिया सहभागी थिए।

टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको थियो। नेपाली बलिङसामु सुरुदेखि नै दबाबमा परेको पीएनजी ११८ रनमै समेटियो।

नेपालले दिएकाे एक सय ६९ रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १६ ओभर २ बलमा एक सय १७ रन बनाउँदा अलआउट भयाे । पीएनजी लागि सेसे बाउले सर्वाधिक ५९ रन बनाए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । चार ओभर बलिङ गरेका दीपेन्द्रले १८ रन दिएर चार विकेट लिए । यस्तै करण केसीले तीन र सन्दीप लामिछानेले दुई विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६८ रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक नटआउट ५४ रन बनाए ।

यस्तै करण केसीले १२ बलमा नटआउट ३३ रन बनाए । त्यस्तै आशिफ शेख २९ र कुशल भुर्तेल २५ रन बनाएर आउट भए । पीएनजीका सेमाे कमियाले तीन विकेट लिए ।

नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । चार खेलमा चार जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो । पीएनजी भने दुई अंकसहित नेट रनरेटका आधारमा मलेसियालाई पछि पार्दै फाइनलमा पुगेकाे हाे ।

 

Leave a Reply

Your email address will not be published.