चोभार सुख्खा बन्दरगाहको उद्घाटन

काठमाडौं । कीर्तिपुरको चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराए ।

देउवाले स्थानीयबासीको विरोधका कारण कडा सुरक्षा घेराकाबीच सुख्खा बन्दरगाहको उद्घाटन गरे । स्थानीयबासी तथा वातावरण, विकास तथा संस्कृतिविद्हरुले उक्त स्थान सुख्खा बन्दरगाहका लागि अनुपयुक्त भएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुनेछन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले ५ सय ट्रक र ५ सय कन्टेनरको लागि पूर्वाधार निर्माण भएको जानकारी दिएको छ ।

विश्व बैंकको सहयोगमा १ अर्ब ५४ करोड लागतमा बन्दरगाह तयार भएको हो । बढ्दै गएको वैदेशिक व्यापारमा बन्दरगाहले सहयोग पुग्ने सरकारको विश्वास छ ।

पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो ।

समितिमा कांग्रेसबाट गगन थापा, ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी छन् ।

बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published.