पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्याे, खाना पकाउने ग्यासकाे पनि बढ्याे !

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बृद्धि गरेको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको हो ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १४३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १६ सय कायम गरिएको छ ।

आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

स्वचालित बनाउने तयारी

उता निगमले ठूलो घाटा बेहोर्नु परेको भन्दै स्वचालित मूल्य प्रणाली बनाउने तयारी गरेको छ । मंगलबार अर्थमन्त्रालयमा भएको छलफलमा स्वचालित मूल्य बनाउने विषयमा छलफल भएको थियो ।

अब सञ्चालक समितिले निर्णय गरेर एकमहिनाभित्रै स्वचालित बनाउने बताइएको छ । यसो गरे इन्धनको मूल्य थप बढ्ने छ ।

निगमका सह–प्रवक्ता पुस्कर कार्कीका अनुसार अहिले पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा लागत रहेको छ भने मट्टितेलको १३६ रुपैयाँ ३१ पैसा र डिजेलको १७१ रुपैयाँ लागत रहेको छ ।

अर्थात स्वचालित भएमा पेट्रोलको मूल्य प्रति लिटर १८२ रुपैयाँ ९८ पैसा पुग्नेछ । उता खाना पकाउने ग्यासको मूल्य भने स्वचालित भएमा २५ सय ३२ रुपैयाँसम्म पुग्न सक्नेछ ।

Leave a Reply

Your email address will not be published.