बढ्यो बिनोद चौधरीको सम्पत्ति

काठमाडौं । नेपालका एक मात्र अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा १० करोड डलरले बढेको छ।

प्रतिष्ठित फोर्ब्स म्यागाजिनका अनुसार चौधरीको समग्र सम्पत्ति १ अर्ब ५० करोड डलर पुगेको छ। उनी यस वर्ष विश्वका अर्बपतिहरुको सूचीमा १९२९ औं स्थानमा रहेका छन्।

गत वर्ष विश्वका अर्बपतिहरुको सूचीमा उनी २१४१ औं स्थानमा थिए। गत वर्ष उनको सम्पत्ति पनि स्थिर देखिएको थियो।

फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति सन् २०१९ मा सबैभन्दा धेरै १ अर्ब ७० करोड डलर पुगेको थियो। तर, सन् २०२० मा १ अर्ब ४० करोड डलरमा झरेको थियो।

फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको भनिएको छ ।

६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ।

सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा समेत उनको लगानी छ ।

चौधरीका छोराहरु निर्वाण नेपालमा व्यवसायमा सक्रिय रहेको, राहुल र वरुण नेपालबाहिर सिजी ग्रुपको कम्पनी सञ्चालन गरिरहेको फोबर्सले लेखेको छ।

सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा १.३ बिलियन डलर र २०१६ मा घटेर पुन १.१ बिलियन डलर पुगेको थियो।

यस्तै सन् २०१७ मा बढेर पुन १.३ बिलियन डलर रहेको उनको सम्पती सन् २०१८ मा १.५ बिलियन डलर र सन् २०१९ मा १.७ बिलियन डलर पुगेको थियो।

त्यसपछि सन् २०२० मा घटेको उनको सम्पती १.४ बिलियन डलर पुग्यो। २०२१ मा स्थिर रहेको उनको सम्पती पुन अहिले बढेर १.५ बिलियन डलर पुगेको हो।

फोर्ब्सका अनुसार यस वर्ष टेस्ला कम्पनीका सीईओ एलन मस्क अर्बपतिको सूचीमा पहिलो स्थानमा छन्। उनीसँग २ खर्ब १९ अर्ब डलरको सम्पत्ति छ। त्यस्तै दोस्रो स्थानमा जेफ बेजोस छन्। बेजोसको १ खर्ब ७१ अर्ब डलरको सम्पत्ति छ।

 

Leave a Reply

Your email address will not be published.