चखौरा भरिँदा, सुकौरा सुक्यो

तुलसीपुर । दङ्गीशरण थारूले राज गरेको ठाउँ हो, तुलसीपर–११ स्थित सुकौरा । यो अहिले ओझेलमा छ । अहिले यहाँ हेर्नलायक कुनै पनि संरचना छैनन् ।

प्रदेश सरकारले यहाँ रु २५ लाख लगानीमा भ्यूटावर निर्माण गरिरहेको थियो, जुन अहिले अधुरै छ । स्थानीय मस्तबहादुर चन्दका अनुसार बजेट अभावले सो कार्य सम्पन्न हुन सकेको छैन ।

यहाँको हरित उद्यान पनि अलपत्र छ । उद्यान गाईभैँसीको चरन क्षेत्र बनेको छ । रोपिएको दुबो मरिसकेको छ । उद्यानमा दङ्गीशरण राजाको शालिक राखिएको छ ।

रु २५ लाखको लागतमा उद्यान र दङ्गीशरण राजाको प्रतिमा निर्माण गरिएको हो । एतिहासिक ठाउँ संरक्षण गर्न सम्बन्धित निकायले चासो दिएको छैन ।

पर्खाल भत्किएको छ । पर्खाल निर्माण गर्न चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारदले रु २५ लाख विनियोजन गरेको थियो ।

पर्यटक फाट्टफुट्ट रुपमा आउने गरेका भीमसेन भण्डारी बताउनुहुन्छ । “पर्यटकीय चहलपहल खासै छैन”। उहाँले भन्नुभयो ।

त्यही दङ्गीशरणको नाम भजाएर अहिले चखौरा भने चम्किएको छ । लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्लीबहादुर चौधरीले सञ्चालन गरेको दङ्गीशरण गाउँपालिका–३ चखौरास्थित थारू सङ्ग्रहालयमा दैनिक बाक्लो भीडभाड हुन्छ ।

त्यहाँ दङ्गीशरण राजाको शालिक राखिएको छ । चखौरामा थारू समुदायका ऐतिहासिक कुरा हेर्न मिल्ने तुलसीपुर–११ का वडाध्यक्ष चित्रबहादुर वलीले बताउनुभयो ।

“चखौराले यहाँको पर्यटनलाई प्रभाव पारेको छ”, उहाँले भन्नुभयो वास्तविक दङ्गीशरण सुकौरामा रहेको वलीको दाबी छ । स्थानिय मस्तबहादुर चन्द सुकौरामा सङ्ग्रहालय बन्नुपर्ने बताउनुहुन्छ ।

चखौरामा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्री राखिएका छन् । उक्त सङ्ग्रहालयमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तुलगायत पूर्वी नेपालका थारू समुदायले प्रयोग गर्ने सम्पूर्ण वस्तु राखिएको छ ।

दाङलाई थारू कला, संस्कृतिको नमूना जिल्लाका रूपमा चिनाउन तथा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सङ्ग्रहालय निर्माण गरिएको हो ।

त्यहाँ थारू जातिका कला संस्कृति झल्कने वेषभूषा, गरगहना, प्रयोग गर्ने विभिन्न वस्तु राखिएका छन् । त्यहाँ घुँङी, सुङ्गुर बङ्गुरको मासु, मुसाको चटनी, माछा, गँगटा, चामलको पीठोबाट बनाइने ढिक्री, अनदीको परिकार, अनदीको झोललगायत थारू समुदायको खानाको परिकारसमेत पाइन्छ ।

सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दङ्गीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा निर्माण गरेका संरचना अहिले पनि देख्न सकिन्छ । दङ्गीशरण गर्मी छल्न राजाकोट जाने गरेको बताइन्छ ।

सुकौराकोटबाट दक्षिणतर्फको चुरे पर्वतस्थित राजाकोट रहेको छ । दङ्गीशरण र उनकी रानी बुल्बुल्याले नुहाउने गरेको भनिएको बुल्बुल्या तालमा हरेक वर्ष माघ १ गते नुहाउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.