प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्‍ बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् । दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने यसअघि वाग्मती प्रदेश अध्यक्ष थिए ।

नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम चितवन निवासी दाहाललाई मनोनित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् ।

संविधानमा ३ जना राष्ट्रिय सभा सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ । यसअघि राष्ट्रपतिले मनोनित गरेका रामनारायण बिडारीको समय सकिएपछि रित्त पदमा दाहाल नियुक्त भएका हुन् । उनी माओवादीको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका हुन् ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । मन्त्रिपरिषद्को बिहिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई निलम्बन गरेको हो ।

उनी निलम्बनमा परेसँगै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिइएको छ ।

मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न कमिटी बनाउने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् । छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् ।

समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ । सरकार परिवर्तन भएदेखि नै अर्थमन्त्री जनार्दन शर्मा गभर्नर अधिकारीसँग असन्तुष्ट रहेको खबर सार्वजनिक हुँदै आएका थिए ।

शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री शर्माले आफूलाई राष्ट्र बैंकबाट असहयोग भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.