देशैभर तालमेल गरी आपसी सहकार्य गर्न पाँच दलीय गठबन्धनको अपील

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल गरी आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न आह्वान गरेका छन् ।

सोमबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल,

जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त अपील जारी गरी आपसी सहकार्य र सहयोगको भावनाले अघि बढ्न आह्वान गरेका हुन् ।

अपीलमा भनिएको छ, “देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।”

काठमाडौंको मेयरमा विवेकशील साझाबाट समीक्षा बाँस्कोटा उम्मेद्‍वार

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा समीक्षा बाँस्कोटालाई उम्मेद्‍वार बनाउने भएको छ । उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेद्‍वार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ ।

केन्द्रीय कार्य सम्पादन समितिले शुक्रबार बसेको बैठकले बागमती प्रदेशकी पूर्वसंयोजक एवम् केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य बाँस्कोटालाई मेयरको उम्मेद्‍वार बनाउने निर्णय गरेको हो ।

३८ वर्षीया बाँस्कोटा २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ ‘क’ बाट उम्मेद्‍वार बनेकी थिइन् । त्यतिबेला तेश्रो भएकी उनले ४ हजार ३४३ मत पाएकी थिइन् ।

काठमाडौं स्कुल अफ लबाट कानून विषयमा स्नातक गरेकी उनले अमेरिका गएर कानूनमा नै मास्टर्स गरेकी थिइन् । पढाई सकाएर स्वदेश फर्केकी बाँस्कोटा राजनीतिसँग सँगै चियाको बजारीकरणको काम पनि गर्छिन ।

बाँस्कोटा र ६२ वर्षीया तुलाधरले संयुक्त घोषणापत्र छिट्टै सार्वजनिक गर्ने विवेकशील साझा पार्टीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *