स्थानीय निर्वाचनका लागि चाहिने सरसामान बटुल्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले वैशाखमा हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने सामग्री बटुल्ने कार्यलाई तीब्रता दिएको छ ।

निर्वाचनमा ३८ प्रकारका सामग्री आवश्यक पर्नेमा सोमबारसम्म ३४ प्रकारका सामग्रीहरू ल्याइसकिएको आयोगले जनाएको छ। बटुलिएका सामग्री आयोगको भण्डारण कक्षमा राखिएका छन्।

आउने वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइलाई समेत तीव्रता दिएको जनाएको छ।

सोमबारसम्म २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छपाइ गर्ने काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

साथै स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतले पाउने गरी एकेक प्रति मतदाता नामावलीसमेत पठाइसकिएको छ। आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र सबै पालिकामा निर्वाचन अधिकृत तोकिसकेको छ।

आयोगले आचारसंहितासमेत लागू गरिसकेको छ। दलहरूले आचारसंहिता पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षरसमेत गरिसकेका छन्। आचारसंहिता पालना भए वा नभएको हेर्ने जिम्मा गृह मन्त्रालयअन्तर्गत सबै प्रमुख जिल्ला अधिकारीलाई छ।

कमल थापाको नजरमा यस्ता छन् देशको वर्तमान अवस्थाका ५ चुनौती

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको वर्तमान अवस्थाका ५ चुनौती रहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘जनताको माझमा राप्रपा नेपालः वर्तमान चुनौती र विकल्प’ विषयक अन्तरक्रियामा बोल्दै थापाले यस्तो बताएका हुन् ।

सो क्रममा उनले देशको वर्तमान अवस्थाका ५ चुनौतीको रुपमा संकटग्रस्त अर्थतन्त्र, कमजोर राष्ट्रियता, लोकतन्त्रको आवरणमा सर्वसत्तावाद, धर्म परिवर्तन र भ्रष्टाचारलाई उल्लेख गरे ।

सो क्रममा उनले राजनीतिक परिवर्तनमार्फत जनस्तरमा परिवर्तन आउनुपर्नेमा जोड दिए । त्यसो हुन नसके राजनीतिक परिवर्तनको औचित्य नहुने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.