बढ्यो गाउँगाउँमा भुरे नेताकाे चुरीफुरी, उस्तै चुनावी सरगर्मी

बैतडी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चहलपहल बैतडीमा पनि बढेको छ । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् ।

उम्मेदवारको टुङ्गो नलगाएका भए पनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउँगाउँ पुगेका छन् । मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँगाउँ पुग्ने होडबाजी चलेको छ ।

मुख्य प्रतिस्पर्धीका रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाले पनि स्थानीय तहहरुमा चुनावी अभियान सुरु गरेको छ ।

केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्लाएक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन् । तालमेल गर्ने विषयमा टुङ्गो नलाग्दा एक्लाएक्लै प्रचारमा जुटेका हुन् ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रमअनुसार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिरहेको छ । पालिकास्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिएको छ ।

कांग्रेसका जिल्ला सभापति चतुरबहादुर चन्दका अनुसार निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन भइरहेको छ ।

उहाँले भन्नुभयो, “स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ ।

देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको शृङ्खला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो । ”

सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गरिएको र नेपाली कांग्रेस सिद्धान्त, नीति र विचारलाई आम मानिसमा पु¥याउनका लागि अभियान सञ्चालन भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नो पार्टीले बहुमत ल्याउने सभापति चन्दको दाबी छ । उहाँले भन्नुभयो, “हामीले अहिले पनि हरेक वडामा अभियान सञ्चालन गरिरहेका छौँ । अभियानका दौरानमा पनि कांग्रेसप्रति लोभलाग्दो आकर्षण छ । त्यसकारण हामी बहुमत सिटमा जीत हासिल गर्छौं ।”

नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचारप्रसारमा जुटिसकेको जनाएको छ । गाउँगाउँमा सङ्गठन विस्तार गर्नाका साथै चुनावी अभियानलाई तीव्रता दिएको एमाले बैतडीका सचिव चक्र कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ ।”

यस्तै नेकपा (माओवादी केन्द्र)ले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ । माओवादीका जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले देश अहिले माओवादीको एजेन्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले बोकेको एजेन्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन । त्यसैले हामीलाई नेतृत्व दिन सकेका छैनौँ ।”

आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै स्थानीय तहमा माओवादीको कुनै न कुनै रुपमा प्रतिनिधित्व हुने गरेर अघि बढिरहेको इन्चार्ज कुँवरले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पनि चुनावी अभियानमा व्यस्त रहेको छ । सो पार्टीका जिल्ला अध्यक्ष महादेव भट्टले सङ्गठन विस्तारका साथै

चुनावी अभियानलाई तीव्रता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पार्टीप्रति नागरिकको आकर्षण रहेको छ, हामी निर्णायक शक्तिका रुपमा देखिन्छौँ ।”

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घरदैलो अभियान सुरु गरिसकेको राप्रपाका जिल्ला अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो ।

गएको स्थानीय तहको निर्वाचनभन्दा यो निर्वाचनमा बढी सफलता मिल्ने उहाँको दाबी छ । उहाँले भन्नुभयो, “जनजागरण कार्यक्रम र घर फर्क अभियानलाई पनि सँगसँगै लगेर चुनावी प्रचारप्रसारमा जुटेका छौँ ।”

गएको स्थानीय तहको निर्वाचनमा बैतडीका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६, एमालेले तीन र माओवादी केन्द्रले एक स्थानीय तहमा विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published.