सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई महानिरीक्षकमा नियुक्त गरेको हो ।

शैलेन्द्र खनाल चार वर्षे कार्यकाल पूरा गरेर सोमबारदेखि अनिवार्य अवकाशमा गएपछि रिक्त पदमा केसीलाई नियुक्त गरेको हो ।

खनालको बिदाइपछि केसीलाई निमित्त प्रमुखको जिम्मेवारी समेत दिइएको थियो। एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख थिए ।

प्रहरी निरीक्षकबाट २०४९ वैशाख १९ गते सेवामा प्रवेश गरेका केसी २०५८ सालमा एक तह बढुवा हुँदै डीएसपीबाट सशस्त्र प्रहरीतिर लागेका थिए ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए । नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए ।

केसीको कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ आईजीपी चयन गर्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published.