कमल थापा सूर्य चिन्ह लिएर चुनाव लड्ने

काठमाडाैं । नेकपा(एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने भएको छ।

वैशाख ३० गते हुने चुनावमा सहकार्य गर्ने सहमति भएको हो। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्हमा चुनाव लड्ने सहमति भएको जानकारी ट्विटमार्फत् दिएका छन्।

एमाले र राप्रपा नेपालबीच चुनावी सहकार्य गर्न पाँच बुँदे सहमति भएको छ। उक्त सहमतिमा एमालेका तर्फबाट स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाका तर्फबाट स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सहमतिको पहिलो बुँदामा देशभरिका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने उल्लेख छ।

आफ्ना उम्मेदवार नभएका ठाउँमा राप्रपा नेपालले एमाले उम्मेदवारलाई सघाउने, राप्रपा नेपालका उम्मेदवारलाई पनि एमालेले सघाउने विषय दोस्रो बुँदामा समावेश गरिएको छ।

सहमतिको तेस्रो बुँदामा एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने, केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने उल्लेख छ।

राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने र निर्वाचित भएपश्चात पनि राप्रपा नेपालमा आवद्ध हुने चौथों बुँदामा समावेश छ।

दुबै दलले सहमति कार्यान्वयनका लागि आ-आफ्नो पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने पनि सहमतिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *