काठमाडौं महानगरकाे मेयरमा एमालेबाट ५ जनाको नाम सिफारिस, को-को छन् ?

काठमाडाैं । नेकपा (एमाले) काठमाडौँ नगर कमिटीले नगर प्रमुखको उम्मेदवार बन्नका लागि पाँच जनाएको नाम सिफारिस गरेको छ ।

वर्तमान नगर प्रमुख विद्यासुन्दर शाक्य, पूर्वमन्त्री रामवीर मानन्धर, प्रदेशसभा सदस्य केशव स्थापित, नगर कमिटीका अध्यक्ष निर्मल देउला र जिल्ला कमिटी सदस्य इन्दिरा पन्तको नाम सिफारिस भएको हो ।

नगर कमिटीबाट सिफारिस भएपछि सोही आधारमा जिल्लाले सिफारिस गर्ने कमिटीका अध्यक्ष देउलाले जानकारी दिए ।

जिल्ला कमिटीले आफूलाई लागेको रायसहित प्रदेश र प्रदेशबाट केन्द्र जाने उनले बताए । उनले भने, “केन्द्रले तल्ला कमिटीका सुझावका आधारमा निर्णय गर्नेछ ।”

उपप्रमुखको उम्मेदवारका विषयमा भने छलफल जारी रहेको कमिटीले जनाएको छ । नगरका १६ वडामा अध्यक्षको उम्मेदवार सर्वसम्मत भइसकेको र अरु वडामा छलफलका क्रममा रहेको उनले जानकारी दिए ।

एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार, काठमाडौं जिल्ला कमिटीले आकांक्षीहरुको नाम केन्द्रीय कमिटीमा पठाउनेछ ।

एमाले नेताहरु महानगर कमिटीले संकलन गरेको आकांक्षीहरु मध्ये शाक्य र स्थापितको दावेदारी बलियो रहेको बताउँछन् ।

२०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगर–२१ बाट वडाध्यक्ष जितेका शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् ।

२०७४ को चुनावमा पनि स्थापितले मेयरमा दाबी गरेका थिए । तर टिकट भने शाक्यले पाए । स्थापित शाक्यलाई जिताउने प्रमुख भूमिकामा खटिएका थिए । यसपटक भने स्थापित आफैं मेयरको उम्मेदवार बन्ने दौडमा छन् ।

स्थापित २०४९ को स्थानीय चुनावमा उपमेयरका उम्मेदवार थिए । एमालेबाट मेयरका उम्मेदवार भने राजेन्द्र श्रेष्ठ थिए । तर दुवै जना पराजित भए ।

०५४ को निर्वाचनमा भने स्थापित मेयर र विदुर मैनाली उपमेयर जिते । त्यो चुनावमा एमालेले ३५ मध्ये २७ वडाध्यक्ष समेत जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *