निजामतीकी शोभा: देउरानीहरूकी प्रेरणा बन्दै, अघि बढ्दै

तारा वाग्ले । स्वतन्त्र समाचार 

काठमाडाैं । सरकारी सेवामा गएर त पुरुषले मात्र काम गर्न सक्छन् भन्ने भ्रम कुनै समय हाम्रो समाजमा व्याप्त सोच थियो। महिला सरकारको कर्मचारी भएर उच्च तहमा पुगे भने समाजका वुद्धिजिवि भनिनहरू नै दंग पर्थे।

न त सरकारले महिलाको क्षमता स्वीकार गर्थ्यो न त सेवाग्राहीले उनीहरूले गरेका कामको विश्वास। तर समय सधैं एकनास कहाँ रहन्छ र ? हिजो पुरुषहरूको हालीमुहाली भएको ठाउँमा आज महिलाहरू आफ्नो अस्तित्वका लागि भिडिरहेका छन्। र प्रयास गर्दैछन् समाजमा नारी पुरुषबीचको विभेदलाई हटाउन।

निजामती सेवामा संलग्न महिलाहरूले निर्वाह गरेका जिम्मेवारी र चुनौतीहरू नवप्रवेशी महिलाको लागि समेत प्रेरणा बनेको छ। उच्च तहमा पुगी निजामती प्रशासन हाँकेको महिला कर्मचारीले उपलब्ध स्रोत साधनको उच्चतम उपयोग गरी उत्कृष्ट परिणाम देखाएका छन्।

यही पृष्ठमूमिमा अर्को एउटा नाम जोडिएको छ उपसचिव शोभा पोखरेल। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोगगार कार्यक्रम शाखामा उपसचिवका रुपका कार्यरत पोखरेल २१ वर्षदेखि निरन्तर सेवा दिदै आउनु भएको छ।

यस क्रममा सम्बन्धित कार्यालयबाट विभिन्न पुरस्कार तथा सरकारबाट उत्कृष्ट निजामती कर्मचारी पुरस्कार समेत पाउनु भएको छ। यसक्रममा शोभाले संगालेको अनुभव यसरी सुनाउनुहुन्छ।

सानैदेखि सरकारी जागिर खाने धोको

सरकारी जागिर खाने सानैदेखिको रहर हो। मेरो बुबा पनि यही क्षेत्रमा काम गर्नुहुने भएकोले उहाँले गरेका काम देखेर यसप्रति लालसा बढ्दै गयो। त्यसका लागि पहिले त आफैलाई योग्य बनाउनु पर्थ्यो। पढाई मुख्य पाटो हुने नै भयो मैले पनि पहिले पढाइ सक्छु र पछि लोकसेवाको परिक्षा दिउँला भनेर पहिले पढाइमा ध्यान दिएँ ।

पढाई निरन्तर चलेकै थियो। यहि क्रममा घरमा विहेको कुरा उठ्यो। सरकारी सेवामा संलग्न कूल घरानबाट माग्न आएपछि विहे गरेपछि पनि पढेर लोकसेवा लडौंला भन्ने भयो । तर साच्चै निजामती सेवामा आउछु भन्नेर पुर्ण विश्वस्त त भएको थिइन। भाग्यको कुरा नै भन्नुपर्छ सानैदेखिको रहर मर्न पाएन।

बिहेपछि ट्रयाक चेन्ज

मेरो माइती हेटौंडा हो। बिहेपछि म विराटनगर गएँ। त्यसपछि सरकारी जागिर खान पाउछु कि पाउदिन भन्नेमा कुनै आशंका पनि रहन पाएन। विहेपछि त झन् भाग्य चम्कीयो। ट्रयाक चेन्ज भयो। मेरो श्रीमान् पनि सरकारी सेवामा संलग्न भएकोले लोकसेवा खुलेको बारेमा र कसरी तयारी गर्ने भन्नेमा पुरै जानकार थिएँ। पढाइसँगै लोकसेवा तयारी पनि चल्यो।

धनकुटा आएर लोकसेवाको खरिदारमा फर्म भरेकी थिए। तयारी पनि राम्रै थियो। पहिलो पटकमै खरिदारमा नाम निस्कियो। धनकुटाको लोक सेवा आयोगको कार्यालयमा बसेर केही समय काम गरे। फेरि नायव सुब्वामा फर्म खुल्यो। काम गर्दै लोक सेवा तयारी गरे ना सु मा नाम निकाले। मेहनत त छदै थियो, भाग्यले पनि साथ दियो।

पछि मेरो सरुवा काठमाडौमा भयो। केही समय नासुमा कार्यरत छदै शाखा अघिकृतको तयारीलाई निरन्तरता दिए। सफलता पनि हात लाग्यो। यस क्रममा शिक्षा, भौतिक तथा महिला मन्त्रालय अन्तर्गत विभिन्न कार्यालयमा कार्य अनुभव संगाल्ने मौका मिल्यो।

आफूले काम गरेका कार्यालयबाट विभिन्न प्रशंस र पुरस्कार पनि पाएकी छु। दुई वर्ष अघि सरकारले दिने उत्कृष्ट निजामती सेवा पुरस्कार पनि प्राप्त गर्न सफल भए।

देउरानीहरूलाई पनि प्रेरणा

मैले लोकसेवामा विहेपछि लोकसेवामा नाम निकालेपछि मेरा देउरानीहरूलाई पनि यस क्षेत्रमा आउन उर्जा र प्रेरणा मिलेको छ। मैलै यस क्षेत्रमा आएर पुर्‍याएको सेवा, समाज र राज्यबाट पाएको सम्मान तथा आफ्नो जीवनस्तरमा भएको विकास जस्ता राम्रा प्रभाव देखेर देउरानीहरू पनि यस क्षेत्रमा प्रवेश गरे। सफल पनि भएका छन्।

एक परिवारमा कुनै एक महिला मात्र शिक्षित र आत्मनिर्भर भए भने पनि परिवारका सदस्य तथा अन्य महिलामा सकारात्मक परिवर्तन आउँछ। त्यसैले महिलालाई यस क्षेत्रमा ल्याउन र टिकाइरहने बनाउन परिवार तथा समाजले पनि ध्यान दिनुपर्छ।

राज्यले त महिलालाई यस क्षेत्रमा ल्याउन धेरै राम्रा व्यवस्था ल्याएको छ। सो अनुरुप परिवारका पुरुष सदस्यले साथ दिनुपर्छ र महिला आफैंले पनि मेहनत गर्नुपर्छ।

नम्बरका लागि दुर्गममा सेवा

यस क्षेमा प्रवेश गरिसकेपछि वृतिविकासको चाहना त भैहाल्छ। त्यसको लागि दुई माध्यम छन्। खुला प्रतिस्पर्धा र बढुवा। शाखा अधिकृत सम्म खुला प्रतिस्पर्धाबाट आएँ। उपसचिव बढुवाबाट भएकी हुँ। त्यसको लागि आवश्यक मापदण्ड पूरा गरेर कार्यसम्पादन मूल्यांकनमा तोकिएको अंक ल्याएर तथा दुर्गम क्षेत्रमा काम गरेपछि बढुवा भएको हो।

बढुवाको नम्वर ल्याउन खोटाङ जिल्लामा गएर डेढ वर्षसम्म काम गरे। यी चरणहरूमा आफ्नो क्षमता प्रर्दशन तथा योग्यता प्रमाणित गर्दै पुरस्कारको दावी गरेँ र पुरस्कार पनि पाएँ। काम गर्ने इच्छाशक्ति र इमान्दारिता भएमा यस क्षेत्रमा महिलालाई निकै राम्रो छ।

चुनौति होइन अवसर

निजामती सेवामा महिलाको लागि चुनौति भन्दा अवसर धेरै छन्। सरकारले यस क्षेत्रमा महिलाको संख्या बढाउन विभिन्न व्यवस्था ल्याएको छ। जसको कारण धेरै महिलाले यस क्षेत्रमा आफ्नो क्षमता देखाउन सफल भएका छन्। चुनौति नभएको क्षेत्र त कुन पो छ र ? बरु महिला भएपछि घरमा दोहोरो तेहेरो जिम्मेवारी बहन गर्नुपर्छ।

सबै काम सकाएर मात्र कार्यालय जानुपर्छ। कार्यालयको काम पनि उत्तिकै जिम्मेवार युक्त हुन्छ। जिम्मेवारीको काम पाउनु महिलाको लागि अवसर पनि हो। तर कार्यालयमा काम गर्ने क्रममा चुनौति मात्र आउँछन् भन्ने हुँदैन। चुनौति आएपनि तिनलाई अवसरका रुपमा लिएर काम गर्ने हने भने काम पनि बोझिलो हुँदैन र सफलता पनि छिटो मिल्छ।

समाजको सोच साँघुरो

महिलाले सरकारको स्थायी संयन्त्रमा रहेर अब्बल दर्जाको काम गरेका छन्। पुरुष सरह चुनौतिको समाना गरेका छन्। गुणस्तरिय नतिजा दिएका छन्। तर सेवाग्रहीबाट अपेक्षित जस भने पाएका छैनन। सेवाग्राही सेवा लिन आउँदा महिला कर्मचारीलाई भन्दा पुरुष कर्मचारीलाई नै बढि विश्वास गर्ने गर्छन्।

पुरुष कर्मचारी भन्दा महिला कर्मचारी माथिल्लो श्रेणीमा कार्यरत भएको भएपनि सेवाग्राही आफ्नो काम लिएर पुरुष कर्मचारी भएतिरै जान्छ। महिला भएको तहबाटै गर्नुपर्ने काम रहेछ भने पनि सेवाग्राही पहिले पुरुष कर्मचारीसँग सोधपुछ गरेर मात्र महिला भएको ठाउँमा आउँछ।

यस्तो प्रवृति देख्दा कहिलेकाहीं नमजा लाग्छ तर, यसमा सेवाग्राहीको कुनै दोष छैन। यो त हाम्रो समाजको सोचको उपज हो। समाजले नै महिला उच्च तहमा पुगेर काम गरेका छन् भन्नेमा विश्वस्त छैन। त्यही समाजमा हुर्किएको सेवाग्रहीले महिलालाई नपत्याउनु सामान्य नै भैसकेको छ।

Leave a Reply

Your email address will not be published.