प्रचण्डकी बुहारी पोखराको उपमेयरमा सिफारिस

पोखरा। नेकपा माओवादी केन्द्रले पोखराको मेयर र उपमेयरको सिफारिस गरेको छ। वैशाख ३० गते हुने चुनावका लागि माओवादीले मेयरमा ३ र उपमेयरमा ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरेको हो।

मेयरका लागि यसअघि काँग्रेसलाई सघाएर उम्मेदवारी फिर्ता लिएका विश्वप्रकाश लामिछाने, जिल्ला संयोजक बखानसिंह गुरुङ र महिलामा सीता खड्काको नाम सिफारिस गरिएको छ।

यस्तै, उपमेयरका लागि यसअघि नै उपमेयरमा पराजीत गोमा ढकाल, प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी र सूर्यप्रकाश तिवारीको नाम सिफारिस गरिएको महानगरका अध्यक्ष हरिनारायण गिरीले जानकारी दिए। त्रिपाठी अहिले अनेम सङ्घ क्रान्तिकारीको केन्द्रीय सदस्य हुन्।

‘गठबन्धनसँग छलफल भैरहको छ। यहाँ कसले टिकट पाउने टुङ्गो भएको छैन,’ इन्चार्ज दीपक कोइरालाले भने, ‘हामी एक्लै लड्नु परे पनि तयारी अवस्थामा रहेका हौँ।’ सत्तारुढ गठबन्धन कास्कीमा पनि हुने निर्णय यसअघि नै भैसकेको छ। तर गठबन्धन भित्र सहमति भने भएको छैन।

पोखरामा एकीकृत समाजवादीले दाबी गरेको छ। तर कास्की काँग्रेसले एक विज्ञप्ति जारी गरेर एकीकृत समाजवादीसँग तालमेल गर्न नसक्ने जनाएको छ। काठमाडौँमा आज बसेको गठबन्धन दलहरूको बैठकमा पनि पोखरा महानगरबारे सहमति जुट्न सकेन।

९५ लाख थान मतपत्र छापियो : निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि हालसम्म ४६ जिल्लाको ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ९४ लाख थान मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म उक्त सङ्ख्यामा मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतासँग चित्तबुझ्दो जवाफ पेस गर्न पत्राचार गरेको बताइएको छ ।

निर्वाचनलाई अपाङमैत्री बनाउने र मतदानमा प्राथमिकता दिने विषयलाई आयोगले विशेष ध्यान पुर्याउने बताउँदै प्रवक्ता पौडेलले निर्वाचन सामग्री व्यवस्थापनका कारण अब निर्वाचनमा बाधा नपुग्ने स्पष्ट पारे ।

सामान्य प्रशिक्षण कार्य खर्चबाहेक यस पटकको स्थानीय तह निर्वाचन आफ्नै आर्थिक स्रोतबाट सम्पन्न गर्न लागेको सो अवसरमा जानकारी दिइयो ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनसम्बन्धी काममा एकरूपता कायम गर्न आयोगले ७७ वटै मुख्य निर्वाचन अधिकृत र ६७६ वटै निर्वाचन अधिकृतको कार्यालयले प्रयोग गर्ने साइनबोर्ड, लेटरहेड र छापको नमुना प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमार्फत पठाउन पत्राचार गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन यही वैशाख १ गतेदेखि हरेक दिन प्रकाशन गर्दै आएको ‘स्थानीय तह निर्वाचन ई–बुलेटिन’ आयोगको वेबसाइटमा उपलब्ध छ ।

 

Leave a Reply

Your email address will not be published.