स्थानीय निर्वाचन: उम्मेदवारले कति राख्नुपर्छ धरौटी ?

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि निर्वाचन आयोगले उम्मेदवारले राख्नुपर्ने धरौटी रकम तोकेको छ । आयोगका अनुसार स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुखले एक हजार पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

त्यस्तै, वडा अध्यक्षले एक हजार रुपैयाँ र सदस्यले पाँच सय रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

आयोगका अनुसार महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न व्यक्तिको हकमा भने धरौटीमा ५० प्रतिशत छुट दिइएको छ ।

 

विवेकशील साझाले टोखा नगरपालिकाको मेयरमा सिटौलालाई उठाउने

विवेकशील साझा पार्टीले टोखा नगरपालिकाको मेयरमा लक्ष्मणराज सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तहको चुनावमा टोखा नगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य समेत रहेका सिटौलालाई उठाउने निर्णय भएको विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

सिटौलाको लामो प्रशासनिक दक्षता, सिर्जनात्मक क्षमता एवं राजनीतिक, सामाजिक र आर्थिक सुझबुझलाई राष्ट्रहितमा थप उपयोगबाट वैकल्पिक राजनीतिलाई स्थापित गर्न थप बल पुग्ने विश्वासका साथ विवेकशील साझा पार्टीले टोखा नगरपालिकामा मेयरमा उठाउने निर्णयमा पुगेको पाठकले बताए ।

सिटौलाले नेपाल वायुसेवा निगममा ३३ वर्ष प्रशासनिक काम गरी उपसचिवबाट दुई वर्षअघि राजीनामा दिएका थिए । ०४२ सालदेखि टोखा नगरपालिका-११ मा स्थायी बसोबास गर्दै आएका सिटौला हाल स्वतन्त्र लेखन, अनुसन्धान, पत्रकारिता, आन्तरिक पर्यटन प्रवर्द्धनमा सक्रिय छन् ।

Leave a Reply

Your email address will not be published.