नेकपा एसकाे घाेषणा पत्र : मदिरा सेवन गर्न पालिकाबाट अनुमति लिनुपर्ने !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मदिरा सेवन गर्नका लागि मदिरा कार्ड लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ । मंगलबार जारी चुनावी घोषणापत्रमा पालिकाको अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

“जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्नु आवश्यक छ ।

मदिरा सेवन गर्नेहरूले पालिकाबाट अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरिनेछ । यसबाट जथाभावी रूपमा मदिरा सेवनमा नियन्त्रण हुनेछ भने सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्नेछ,” घोषणापत्रमा भनिएको छ ।

त्यस्तै, घोषणापत्रमा घरेलु पेयपदार्थको ‘ब्रान्डिङ’ गरिने पनि उल्लेख छ । “घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचिपूर्वक सेवन गरेको देखिन्छ । यसैले यस्ता मालवस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु आवश्यक छ ।

आफ्ना उत्पादनलाई धराशायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक छ,” घोषणापत्रमा भनिएको छ,

“यसैले संघ र प्रदेश सरकारहरूसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्ने कुरालाई पालिकाहरूले योजनाबद्ध ढंगले अगाडि बढाउनेछन् । यस कामबाट आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास हुने र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुनेछ ।”

Leave a Reply

Your email address will not be published.