एमालेले टुंग्यायो ५ महानगरको उम्मेदवार, हेर्नुस् कहाँ कसले पायाे टिकट

काठमाडौं ।  नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ ।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो ।  ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

एमालेले ९ वटा उपमहानरको पनि उम्मेदवार टुंग्याएको छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बााकी छ । बाँकी उपमहानरमा प्रमुख र उपप्रमुख दुबै उम्मेदवार टुंगो लगाएको छ ।

धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु
नेपालगञ्ज : प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल

तुलसीपुर : प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी
घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी

बुटवल : प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल
हेटौंडा : अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले

धरान : प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्ब
इटहरी : प्रमुख यमकुमार सुब्बा, उपमेयर संगिता चौधरी

कलैया : विनोद साह

गठबन्धनलाई आयोगले चिन्दैनः प्रमुख आयुक्त थपलिया

यही वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनको सबै तयारी निर्वाचन कार्यतालिका बमोजिम व्यवस्थित र प्रभावकारी ढङ्गले भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले शनिबार आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सबै आयुक्तहरू उपस्थित पत्रकार भेटघाटमा आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार

यही वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको जानकारी दिइयो ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने

र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनामा जानकारी दिइयो ।

समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा तोकिएबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने भएकाले यसबाट उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सहज, सरल र शान्तिपूर्णरूपमा समयमा नै सम्पन्न हुने विश्वास आयोगले लिएको छ ।

दलहरूको गठबन्धनका आधारमा उम्मेदवारी हुने हुँदा उम्मेदवारी नहुने दलको निर्वाचन चिह्न मतपत्रमा समावेश नगर्न केही दलबाट आग्रह आएको भन्ने पत्रकारहरूको प्रश्नको जवाफमा प्रमुख आयुक्त थपलियाले

मतपत्र छपाइ सुरु भइसकेकाले प्राविधिक र व्यवहारिकरूपमा त्यस्तो गर्न नसकिने स्पष्ट गर्दै कानुनमा व्यवस्था नभएकाले गठबन्धनलाई आयोगले नचिन्ने बताए ।

उनले कूल छ हजार ७४३ प्रकारका मतपत्र छपाई गर्नुपर्ने र वैशाख २६ गतेभित्र सबै मततदान केन्द्रमा पुर्याइसक्नुपर्ने भएकाले पनि उम्मेदवारी नपर्ने दलको चिह्न हटाउन सम्भव नहुने बरु विद्युतीय मतदानको प्रबन्ध गराइएमा आगामी दिनमा त्यस्ता विषय व्यवस्थित गर्न सकिने बताए ।

कुनै उम्मेदवारले जुन दलको निर्वाचन चिह्न प्रयोग गरेर सम्बन्धित दलले मनोनयन दर्ता गराउँछ निज उम्मेदवार सोही दलको उम्मेदवार हुने पनि उनले स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published.