एमालेकी मञ्जुदेवी गुरुङले अस्वीकार गरिन् पोखराको उपमेयर टिकट

पोखरा । पोखरामा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन् । आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदासमेत आफूलाई नसोधेको उनको भनाइ छ ।

पार्टीले अझैसम्म आधिकारिक रुपमा जानकारी नदिएको र दिइसकेपछि आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताएकी छन् । उनी भन्छिन्, ‘मेयरमा पनि दाबी नगरेको मान्छे, उपमेयरमा फेरि उठ्ने सोच छैन ।’

आफूले मेयर र उपमेयर कुनैपनि पदमा दाबी नगरेको र आफूसंग कुनैपनि सल्लाह नगरिकन नेताहरुले के कारण यस्तो निर्णय गरे भन्ने नै आफूलाई जानकारी नरहेको उनले प्रतिक्रिया दिइन् । उपमेयरको पद आफूलाई स्विकार्य नरहेको गुरुङले प्रष्टोक्ति दिएकी छन् ।

आफुले नमागेको कुरा नसोधी किन दिइएको हो भनेर उनले पार्टी नेतृत्वलाई प्रश्न समेत गरेकी छन् । ‘मैले मागेको भए अहिले तिमिलाई यो भयो भनेर चित्त बुझाउनु हुन्थ्यो । तर, मैले न मेयरमा आकांक्षा राखेको छु ।

न उपमेयरमा आकांक्षा राखेको छु । मलाई सोध्दै नसोधी र जानकारी नै नदिई किन मेरो नाम उपमेयरका लागि निर्णय गरियो ? मेरालागि यो स्विकार्य छैन । नेताहरुले अहिलेसम्म मलाई केही बताउनुभएको छैन । म उहाँहरुलाई सोध्दैछु ।’

केन्द्रीय सदस्य र हालको महानगरको उपमेयरलाई तल राखेर मेयरमा प्रदेश सचिवालय सदस्य रहेको दिपक पौडेललाई मेयरको उम्मेद्वार बनाउने निर्णयप्रति पोखरामा एमालेका नेता कार्यकर्तासमेत असन्तुष्ट देखिएका छन् ।

भरतपुर र माडीमा एमाले-राप्रपा तालमेल प्रयास

चितवन । चितवनको भरतपुर महानगरपालिका र माडी नगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने विषयमा चलेको छलफल अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।

जिल्लाका यी दुई पालिकामा राप्रपाको मत राम्रो रहेकाले राप्रपालाई दुबै पालिकामा उपमेयरसहित केही वडाध्यक्ष दिएर तालमेल गर्ने सहमतिको नजिक पुगिएको एमाले नेताहरुले बताएका छन् ।

राप्रपाको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राप्रपाका नेता जीवलाल पुरीले एमालेसँग सकारात्मक कुराकानी भइरहेको बताए ।

भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपाको बलियो उपस्थिति छ । एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गर्ने भनेर उपमेयरको टुंगो लगाएको छैन ।

शनिबार राति सकिएको एमाले सचिवालय बैठकले पनि भरतपुर महानगरपालिकाको उपमेयरमा सकेसम्म तालमेल गर्ने नभए गीता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एमालेले भरतपुर महानगरको मेयरमा विजय सुवेदी र माडीको मेयरमा ताराकाजी महतोलाई मेयरको उम्मेदवार बनाएको छ ।

एमाले चितवन जिल्ला इञ्चार्जसमेत रहेका पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीले राप्रपासँग चुनावी तालमेलमा सहमतिको नजिक पुगेको बताए । ‘आज साँझसम्म एउटा कुरा आउँछ,’ नेता ज्ञवालीले भने, ‘एमाले र राप्रपासँगै मिलेर जानेमा एकमत छौं ।’

विक्रम पाण्डे

भरतपुर महानगरका अधिकांशका वडा र माडी नगरपालिका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको निर्वाचन क्षेत्र (चितवन ३) मा पर्दछ ।

राप्रपाका उपाध्यक्ष पाण्डेले एमालेसँग सहमति गरेर चुनावमा जानेबारे सकारात्मक कुराकानी भएको अनलाइनखबरसँग बताए ।

‘मिलेर जानुको विकल्प छैन, आज फाइनल हुन्छ,’ उपाध्यक्ष पाण्डेले भने, ‘यसपटक भरतपुर जित्नुपर्छ भन्ने हो ।’ एमालेले भरतपुरको उपमेयरमा प्रदेश सांसदसमेत रहेकी रिना गुरूङलाई उम्मेदवार बन्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published.