कक्षा १२ को पूर्व निर्धारित परीक्षा समय परिवर्तन

काठमाडौं । कक्षा १२ को पूर्व निर्धारित परीक्षाको समय परिवर्तन भएको छ। राष्ट्रिय परीक्षा बोर्डले समय परिवर्तन गरिएको जनाएको छ।

यस वर्षको कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ। चैत ५ र ६ गते गोरखापत्रमा प्रकाशित सूचना अनुसार परीक्षा बोर्डले बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालनको समय निर्धारण गरेको थियो।

तर, विभिन्न क्षेत्रको सुझाव पछि बोर्डले परीक्षाको समय परिवर्तन गरेको हो। अब निर्धारित मितिमै जेठ १६ देखि २५ गतेसम्म सञ्चालन हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने भएको छ।

स्थानीय तह निर्वाचनः आज र भोलि उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले आज र भोलिका लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो ।

आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका तय गरिएको छ ।

वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने,

वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

देशका ७५३ वटै स्थानीय तहहरूमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना भई कार्यसञ्चालन र मतदान केन्द्रमा प्रयोग हुने सामग्री पठाउने कार्य निरन्तर भइरहेको आयोगले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.