एलोन मस्क ट्वीटरको नयाँ मालिक, नयाँ सुविधा थप्दै !

काठमाडौं । टेस्लाका सीईओ एलोन मस्क ट्वीटरको नयाँ मालिक बनेका छन्। मस्कले माइक्रो ब्लगिङ साइट किन्न ४४ अर्ब डलरको सम्झौता गरेका छन्। ट्वीटरको स्वतन्त्र बोर्डका अध्यक्ष ब्रेट टेलरले प्रेस विज्ञप्ति जारी गर्दै मस्कसँग भएको सम्झौताको जानकारी दिएका हुन्।

मस्कले ट्वीटरको प्रत्येक सेयरको लागि ५४.२० डलर तिर्नुपर्नेछ। ट्विटरमा उनको पहिले नै ९ प्रतिशत शेयर छ। उनी ट्वीटरको सबैभन्दा ठूलो शेयर होल्डर हुन्। पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी रहनेछ र ट्वीटर उनको निजी कम्पनी हुनेछ।

मस्कले दुई साताभन्दा कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए। उनले त्यसबेला ट्विटरमा “व्यापक सम्भावना” रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए।

सम्झौतामा के छ?

सीएनएनका अनुसार मस्कको स्वामित्वमा रहेको कम्पनी बनेपछि ट्वीटरका सबै शेयरधनीले प्रत्येक शेयरबापत् ५४.२० डलर पाउनेछन्।

मस्कले गत हप्ता ट्वीटर किन्न ४६.५ बिलियन डलरको आर्थिक सहयोग गरेको बताएका थिए। यसपछि, ट्वीटरको बोर्डले मस्कको प्रस्तावलाई नयाँ रूप दिएको थियो। आइतबार मस्कको प्रस्तावमाथि छलफल गर्न ट्वीटरको बोर्डको बैठक पनि बसेको थियो।

सोमबार ढिलो गरेर ट्वीटरको बोर्डले मस्कको प्रस्तावलाई स्वीकार गरेको छ। यस्तो अवस्थामा मस्क ट्वीटरको नयाँ मालिक हुने लगभग तय भइसकेको छ।

खरिद सम्झौता अन्तिम भएपछि मस्कले स्वतन्त्र अभिव्यक्तिको वकालत गर्दै ट्वीट गरेका छन्। ‘सामाजिक मिडिया प्लेटफर्ममा अभिव्यक्ति स्वतन्त्रता खतरामा छ। म स्वतन्त्रता सुनिश्चित गर्न चाहन्छु,’ उनले लेखेका छन्।

फोर्ब्स पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ। उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, “अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ।”

“नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु,” उनले भनेका छन्।

“ट्विटरमा व्यापक सम्भावना छ- त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु।”

 

Leave a Reply

Your email address will not be published.