नेपालगञ्ज र कोहलपुरमा दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गराएका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उमेदवारी दर्ता गराएका हुन् ।

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उमेदवारी दिएका छन् ।

कांग्रेसबाट उमेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष हुन् । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।

त्यस्तै, कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नम्बर–३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यति बेला उनीसँग ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै छन् ।

जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उमेदवारी परेको छ । रासस

 

Leave a Reply

Your email address will not be published.