ह्वात्तै घट्याे सुनचाँदीकाे भाउ, कतिमा हुँदैछ आज काराेबार ?

काठमाडाैं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९८ हजार तोकिएको छ ।

यस साताको पहिलो कारोबार दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार ३२० मा आएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७७ डलर आसपास कारोबार भइरहेको छ ।

आन्तरिक उडान आजदेखि १८ घण्टा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्‍याएको छ ।

विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै आजदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

प्राधिकरणले रात्रिकालीन उडानयोग्य भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई बिहान ६ देखि राति १२ बजेसम्म सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यसले काठमाडौं विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने तथा कोभिड–१९ महामारीपछि जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने प्राधिकरणको विश्वास छ ।

“तराईका रात्रिकालीन उडानयोग्य विमानस्थलमा राति १२ बजेसम्म उडान सञ्चालन गर्न लागेका छौँ । यसबाट हवाई यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि पनि बढ्नेछ,” महानिर्देशक अधिकारीले भने ।

अन्तर्राष्ट्रिय उडानमा पनि आउँदो जेठ २ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा उडान गर्ने प्राधिकरणले तयारी गरेको छ ।

“अब कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन समयमा बन्द हुँदैनन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि २४सै घण्टा चल्छ,” उनले भने ।

Leave a Reply

Your email address will not be published.