मंगलबार रातिदेखि मौन अवधि लागू हुँदै, के के गर्न पाइदैन थाहा पाउनुस ?

काठमाडौं । यही वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा प्रचार प्रसारलगाायतका गतिविधिमा निर्वाचन आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार यस अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइने छैन।

त्यसकारण चुनावी प्रचारका लागि मंगलबार अन्तिम दिन हो। अन्तिम दिन भएकाले मंगलबार उम्मेदवारहरू चुनावी प्रचार प्रसारलाई तिव्रता दिने ध्याउन्नमा छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरा पुगेका छन्।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको तीन सय मिटर क्षेत्रमा निर्वाचन चिह्न र प्रचार सामग्री हटाउनुपर्ने, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने आयोगले जनाएको छ।

मौन अवधिमा बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न निषेध गरिएको आयोगले जनाएको छ।

निर्वाचनका लागि मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले प्रचार गर्न पाइँदैन।

पोखरामा कांग्रेसका बागीको उम्मेदवारी फिर्ता, गठबन्धनलाई सघाउने

पोखरा महानगरपालिकामा मेयर पदमा बागी उम्मेदवारी दिएका काँग्रेस नेता विमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टीले पोखराको मेयर गठबन्धन दलमध्येको एकीकृत समाजवादीलाई दिएपछि उनले असहमति जनाउँदै मेयरमा उम्मेदवारी दर्ता गराएर चुनावी प्रचार–प्रसारमा जुट्दै आएका थिए ।

कार्कीले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार बनेका धनराज आचार्य र कांग्रेसकी कोपिला रानाभाटलाई समर्थन गर्ने बताएका छन् ।

कार्कीले सोमबार विज्ञप्ति जारी गरी पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्।

विज्ञप्तिमा भनिएको छ,‘पार्टीको निर्देशन र साथीभाइको सल्लाह अनुसार मैले गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु ।

मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको जानकारी गराउँदै गठबन्धनको उम्मेदवार आचार्य र रानाभाटको चुनावी प्रचारप्रसारमा सरिक रहने छु।’

कार्कीको उम्मेदवारी फिर्ता भएपछि गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारले मत काट्ने चिन्ता हटेको छ। पोखरा १४ स्थानीय घर भएका काँग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि गठबन्धनका दलमा उत्साह थपिएको छ।

Leave a Reply

Your email address will not be published.