स्थानीय तह निर्वाचनः आयोगले खटायो १९ अनुगमन टोली, पैसा बाँडे तुरुन्तै कारवाही

काठमाडौँ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनबारे निगरानी राख्न १९ वटा अनुगमन टोली परिचालन गरेको छ ।

आयोगले कुनै पनि आचारसंहिता उल्लंघनको घटनामा तत्काल कारबाही गर्न सक्ने अधिकार दिएर १९ वटा टोली अनुगमनमा खटाएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले तुलनात्मक रुपमा संवेदनशील ठानिएका स्थानमा १९ टोली परिचालन गरेको जानकारी दिए ।

त्यस्ता टोलीलाई मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भएको वा नभएको अनुगमन गर्ने र त्यस्तो देखिए तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ ।

त्यसैगरी, सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएको पाइएमा पनि टोलीले तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउने प्रवक्ता पौडेलले बताए ।

मंगलबार राती १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि नहुने आयोगले जनाएको छ ।

मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने

वैशाख ३० गते देशैभर हुने स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले भोट हाल्न पाउने भएका छन् ।

नागरिकता भएका सबैलाई मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।

भोट हाल्न मतदाता परिचयपत्र अनिवार्य हो कि होइन भन्ने प्रश्नमा उनले नागरिकता हुने सबैले भोट हाल्न पाउने बताए ।

Leave a Reply

Your email address will not be published.