काठमाडाैं महानगरमा कति छन् मतदानस्थल ?

काठमाडाैं । भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ ।

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन् । धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो । यस वडामा १८ हजार ९१३ जना मतदाता छन् ।

वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन् । त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो । यस वडामा ३ हजार ७२९ मतदाता छन् ।

वडा नं २३ मा चार हजार ४७७ मतदाता छन् । वडा २० मा ४ हजार ६१४ मतदाता छन् । कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन् । यसमा ३६३ वटा मतदानस्थल छन् । वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो । यसमा ११ केन्द्र छन् ।

यसैगरी वडा १६ मा १० केन्द्र छन् । यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ । वडा ७ र ३२ मा ९÷९ वटा केन्द्र छन् । सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो । यसमा एउटा मात्र केन्द्र छ ।

वडा १९, २० र २४ मा २÷२ वटा मात्र केन्द्र छन् । यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३÷३ वटा मतदान केन्द्र छन् ।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो । यस वडामा २३ वटा बुथ छन् । वडा ३१ र ३२ मा २२÷२२ वटा मतदानस्थल छन् । धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो । यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ ।

स्थानीय निर्वाचनः गाउँमा चहलपहल, सहर सुनसान

नेपालगञ्जमा होटल व्यवसाय गर्दै आउनुभएकी बैजनाथकी लक्ष्मी योगीलाई चुनावमा भाग लिन गाउँ जाने तर्खरमा हुनुहुन्छ ।

बैजनाथ गाउँपालिका–२ निवासी उनी अरु बेला नेपालगञ्जमा होटल व्यवसाय गरे पनि भोट हाल्न गाउँ जाँदा रमाइलो हुने बताउनुहुन्छ ।

बाँकेको नेपालगञ्ज र कोहलपुरमा पेशा तथा व्यवसाय गरेर बस्दै आएका अधिकांश सर्वसाधारण आ–आफ्नो गाउँमा फर्किसकेका छन् ।

आसन्न निर्वाचनमा मतदानको लागि आज साँझसम्म सबैजसो सर्वसाधारण आ–आफ्नो गाउँ फर्किसक्ने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीमलाल कँडेलले जानकारी दिनुभयो ।

उहाँले नेपालगञ्जमा होटल व्यवसाय गर्दै आएका अधिकांश व्यवसायी आ–आफ्नो गाउँमा भोट हाल्न पुगेको जानकारी दिनुभयो । होटल व्यवसायी चुनावमा भोट हाल्न गाउँ गएका कारण नेपालगञ्जका धेरैजसो होटल बन्द भएका छन् ।

निर्वाचनले सहरमा भन्दा गाउँमा चहलपहल बढाएको छ । पेसा तथा व्यवसायमा व्यस्त हुँदै आएका सर्वसाधारणले निर्वाचनलाई गाउँ पुगेर घरपरिवारसँग भेटघाट गर्ने अवसरका रुपमा पनि लिएको उहाँको भनाइ छ ।

सहरमा पेशा तथा व्यवसाय गर्ने सर्वसाधारण निर्वाचनमा भाग लिन गाउँ फर्किएपछि यतिबेला सहरमा भन्दा गाउँमा चहलपहल बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।

बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिब छ हजार २०० परिचालन भएका छन् ।

निर्वाचनका लागि जिल्लाका आठवटै पालिकामा निजामती र संस्थानका कर्मचारी गरी दुई हजार २०० परिचालन भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचनका लागि बाँकेमा चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा १३६ मतदान केन्द्र र ३७९ मतदानस्थल छन् ।

जिल्लाका १३६ मतदान केन्द्रमध्ये १०६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको सुरक्षा विश्लेषण गरी यसैअनुरुप सुरक्षा प्रबन्ध मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published.