भरतपुरको मतगणना स्थलमा फलामको बार र तारजाली

चितवन । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार केन्द्रको ‘सी’ ब्लकमा मतगणना गर्ने तयारी गरिएको हो । सो ब्लकमा सिसिटिभि जडानको काम सकिएको छ भने तार जाली लगाउने काम भईरहेको जनाइएको छ ।

सात समुहमा मतगणना गर्न सकिने गरी तयारी थालिएको पौडेलले जानकारी दिनुभयो । “आयोगले ५ गते सम्म गणनाको काम सक्न निर्देशन दिएको छ, सोही अनुसार तयारी गरेका छौ”, उहाँले भन्नुभयो ।

तर, महानगरमा खस्ने मतको अनुपातमा आयोगले तोकेको मितिभन्दा दुई दिन ढिला हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।

वि सं २०७४ को मत गणनाको क्रममा मत पत्र च्यातिएपछि अहिलेको गणनामा त्यस्तो नहोस भनेर सबै खालको तयारी गरिएको पौडेलले बताउनुभयो ।

भरतपुर महानगरमा २९ वडा छन् । जहाँ १ लाख ८५ हजार ७ सय ५२ मतदाता छन् । महानगरमा लागि ६५ मतदान स्थाल २०२ मतदान केन्द्र रहेको छ ।

विगतको स्थानीय तहको निर्वाचनमा मतगणनाको क्रम भएको घटना दोहोरीन नदिन तीन तहको सुरक्षाकर्मी परिचालनका साथै पर्याप्त कर्मचारी खटाईने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।

मतदानका लागि शीर्ष नेता चितवनमा

भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृहजिल्ला चितवन आइसक्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृहजिल्ला चितवन आउनुभएको हो ।

प्रचण्ड बुधबार चितवन आउनुभएको हो । उहाँ गृहजिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उहाँको मतदानस्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदानस्थल उहाँलगायत एक हजार ६७८ जना मतदाता छन् ।

यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै हुनुहुन्छ । उहाँले भण्डारा अस्पताल मतदानस्थलबाट मतदान गर्दै हुनुहुन्छ । सो मतदानस्थलमा तीन हजार ६५ मतदाता छन् ।

यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै हुनुहुन्छ । उहाँले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नु हुनेछ ।

सो मतदानस्थलमा भने पाँच हजार ८३६ मतदाता छन् । एमाले नेताद्वय पाण्डे र थापा निर्वाचनको प्रचारप्रसारमा जिल्लामा आएर बस्नुभएको थियो ।

यस्तै भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार पाँच दलीय गठबन्धनको रेनु दाहालले आधारभूत विद्यालय सुन्दरबस्ती भरतपुर महानगरपालिका–१४,

एमालेको प्रमुखका उम्मेदवार विजय सुवेदीले भरतपुर महानगरपालिका–१२ स्थित मोहन माविबाट मतदान गर्दै हुनुहुन्छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कृष्णपुर माविबाट मतदान गर्नु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *