कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताउनुभयो ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले

मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा मतदान गर्नुभयो । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गर्नुभयो ।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन् । मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिनुभयो । तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र छ । मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन् ।

ललितपुर महानगरका प्रमुख उम्मेदवारद्वय महर्जन र ब्यञ्जनकारद्वारा मतदान

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान गर्नुभएको छ ।

सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गर्नुभएको हो ।

जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मतदान सुरु भएको छ । ललितपुरका १३१ मतदानस्थलमा रहेका २८८ मतदान केन्द्रमा मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

निर्वाचनमा एक हजार ४३३ कर्मचारी खटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा ३० हजार ८११ नयाँ मतदाता थपिएका जनाइएको छ ।

योसँगै जिल्लामा कूल दुई लाख ४३ हजार ८८४ मतदाता पुगेका छन् । ललितपुरमा ५० मतदानस्थल संवेदनशीलको सूचीमा छ ।

Leave a Reply

Your email address will not be published.