मतदान गरेर फर्किएका वृद्धको मृ त्यु

बैतडी । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृ त्युु भएको छ । मृ त्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिनुभयो ।

भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृ त्युु भएको प्रहरीले जनाएको छ ।

९९ वर्षीय गुरुङद्वारा मतदान

तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचनका लागि उहाँले आज गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो ।

यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गर्नुभएको छ ।

कांग्रेस महामन्त्री शर्माद्वारा मतदान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र कांग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताउनुभयो ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले मेचीनगर १० को

शिशु साक्षर मतदान केन्द्रमा मतदान गर्नुभयो । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गर्नुभयो ।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन् । मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिनुभयो । तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र छ । मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published.