प्रधानमन्त्री देउवाले गरे मतदान

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

काँग्रेस नेता निधिले गरे मतदान

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनमा गृह जिल्ला धनुषाबाट मतदान गरेका छन् । निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि माध्यमिक विद्यालयमा मतदान गरेका हुन् ।

निधिले आफ्ना हजुरबाको नाममा खोलेको माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए ।

काँग्रेसको पक्षमा नतिजा आउँछ : महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा पुगेर मतदान गरेका छन् । शर्माले आफ्नो गृहनगर मेचीनगर नगरपालिकास्थित कविशिरोमणि मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशभर उत्साहपूर्वक मतदान भइरहेको र काँग्रेसको पक्षमा नतिजा आउने विश्वास रहेको बताए ।

यसैबीच मेचीनगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र ) र जनता समाजवादी पार्टीको गठबन्धनका तर्फबाट नगरप्रमुख पदमा उम्मेदवार बन्नुभएको इन्द्र बुढाथोकीले मेचीनगर १० को शिशु साक्षर मतदान केन्द्रमा

मतदान गरेका छन् । सोही वडाको हरि आधारभूत विद्यालय मतदान केन्द्रमा मेचीनगरमा नेकपा (एमाले)बाट नगरप्रमुख पदमा उम्मेदवार गोपालचन्द्र बुढाथोकीले समेत मतदान गरे ।

आज बिहानैदेखि मौसम शीतल भएकाले मतदाता उत्साहित भएर मतदान केन्द्रमा लामबद्ध भएका छन् । मेचीनगरमा ९० हजार २०२ मतदाता छन् । ती मध्येमा ४५ हजार ९० महिला र ४५ हजार ११२ पुरुष मतदाता छन् ।

निर्वाचन अधिकृत वेदराज फुयालले मेचीनगरमा ३२० उम्मेदवार रहेको जानकारी दिए । तीमध्ये एमालेको तर्फबाट एक दलित महिला उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । मेचीनगरमा ३५ मतदानस्थल र १०२ मतदान केन्द्र छ ।

मेचीनगरमा ८१६ जना कर्मचारीसहित सुरक्षाकर्मी र पर्यवेक्षक चुनावमा खटिएका छन् ।

Leave a Reply

Your email address will not be published.