डा बाबुराम भट्टराईकाे कुतर्क ! ‘मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन’

काठमाडाैं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको दाबी गरेका छन्।

आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएका भट्टराईले त्यसबारे प्रस्ट पार्दै मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने जिकिर गरेका हुन्।

उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’

उनले गोरखाको पालुङटार नगरपालिका-१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए। आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए।

कानूनमा यसरी मतपत्र सार्वजनिक गर्नेलाई १५ हजार रुपैयाँ जरिवानको व्यवस्था छ। निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को (२) मा मत संकेत सार्वजनिक गर्नेलाई मतदान अधिकृतले १५ हजार रुपैयाँ जरिवाना गर्नसक्ने उल्लेख छ।

वैशाख ३० गते विहान ८.२५ बजे गोरखाको पालुङ्टार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा भोट हाले लगत्तै भट्टराईले फेसबुकमार्फत मत सङ्केत सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको मतपत्र खाममा सिलबन्दी गरेर छुट्टै राखी गणना नगर्ने कानूनी व्यवस्था छ।

ऐनमा कसैले पनि मतपत्रमा संकेत गरेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत सङ्केत स्थलमा संकेत नगरी त्यस भन्दा बाहिर गई मत सङ्केत गर्न वा सङ्केत गरेको व्यवहोरा कुनै प्रकारले सार्वजनिक गर्न नहुने व्यवस्था छ।

Leave a Reply

Your email address will not be published.