आजै साँझबाट मतगणना सुरु हुने

काठमाडाैं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझबाट मतगणना सुरु हुने भएको छ ।

आज साँझ ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइने र मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको

रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक मतदानकार्य भइरहेको

जनाइएको छ । मुलुकभर ७५३ पालिकामध्ये कपिलवस्तुको एक पालिकाबाहेक सबै पालिकाका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ ।

दोलखा, सर्लाही, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदानकार्य अवरुद्ध भएकामा सञ्चालन गर्ने प्रयास भइरहेको आयोगले जनाएको छ ।

रसुवामा २५ प्रतिशत मतदान

आज सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचन रसुवामा शान्तिपूर्ण तवरले अगाडि बढेको जनाइएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार अहिले १०ः३० बजेसम्म २५ प्रतिशत मतदान भएको छ ।

सांसद मोहन आर्चायले उत्तरगया गाउँपालिका वडा नं ५ को माझगाउँ केन्द्रबाट ९ः३० बजे मतदान गर्नुभएको मतदान अधिकृत नेत्रमणि न्यौपानेले जानकारी दिनुभयो ।

रसुवा जिल्लाको ५१ मतदान केन्द्रबाट मतदाता गर्ने मतदाताको सङ्ख्या ३८ हजार ५४५ जना बताइएको छ । मौसम सामान्य रहेकोले मतदानका लागि उत्साहपूर्वक मतदाता लामबद्व भएर आफ्ना मताधिकार प्रयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.