मतदानस्थलबाट मतपेटिका लिएर भागे स्थानीय …. !

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । तर मतदान स्थलमा हुलदंगा भएको र आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेको मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् ।

त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

मतपेटिका संकलन हुँदै, आजै मतगणना शुरू हुने

देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। आयोगका अनुसार मतदानका लागि लाइनमा बसेका मतदाताले अझै मत दिन पाउनेछन्।

कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित भएको मतदान ढिलो गरि सुरू भएका छन् । मतदान सम्पन्न भएको मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने काम भइरहेको आयोगले बताएको छ ।

सम्बन्धित स्थानीय तहको मुख्य निर्वाचन अधिकृतको कार्यालय वा मुख्य निर्वाचन अधिकृतले तोकेको स्थानमा मतपेटिका लैजाने क्रम जारी रहेको निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा नै आजै रातिबाट मतगणना शुरू हुने निर्वाचन आयोगले बताएको छ ।

मतगणना शुरु हुनुअघि निर्वाचन अधिकृतले सर्वदलीय बैठक राख्नेछन्। सर्वदलीय बैठकपछि मतगणना शुरू हुने निर्वाचन आयोगले जानकारी दिएको छ। केही स्थानमा स्थगित भएको मतदान अर्को दिन हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published.