दाङमा पनि फहरायाे माओवादीले विजयकाे झण्डा

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ ।

राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् । ७१४ मत खसेकामा उहाँले ३५८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १९८ मत प्राप्त गरे । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।

रोल्पाको थवाङ ५ मा माओवादीको प्यानल विजयी

नेकपा माओवादी केन्द्रले रोल्पाको थवाङबाट विजयी सुरुवात गरेको छ । थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको छ।

काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।

घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे।

मकवानपुरको भीमफेदीमा माओवादीको अग्रता

मकवानपुरको भीमफेदी गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वार बनेका अध्यक्ष र उपाध्यक्षले अग्रता लिएका छन् । गाउँपालिका १ हजार ६ सय मत गन्दा गठबन्धनबाट उम्मेद्वार बनेका माओवादीका बद्रीबहादुर स्याङतानले ७ सय ७७ मत सहितअग्रता लिएका हुन् ।

यस्तै नेकपा एमालेका हिदम लामाले ६ सय ६४ मत सहित पछ्याइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका सन्जिव श्रेष्ठ ७ सय ८० मत सहित अगाडि छन भने एमालेकी पार्वती राना ६६९ मत सहित दोस्रो स्थानमा छिन् ।

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार हिक्मत कुँवरले ४९२ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गोविन्दप्रसाद भट्टराइले ३४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा गर्न भने बाँकी छ ।

वडा नं १ मा कांग्रेस प्रमुख पदका उम्मेदवार राजनराज पन्तले ४८३ र उपप्रमुख मसलीमाया थोकरले ४९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादीका प्रमुख पदका उम्मेदवार कृष्णराना मगरले ३८६ मत प्राप्त गरेका छन् । मतपरिणामअनुसार विजयी कांग्रेस महिला सदस्यका उम्मेदवारले ४६७, दलित सदस्यमा ४८०,

पुरुष खुला सदस्यमा ५२३ र महिला खुला सदस्यका उम्मेदवारले ५१४ मत ल्याएर विजयी भएका हुन् । वडा नं १ मा कूल एक हजार २१२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.